काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।
बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालको असंलग्न पराराष्ट्रनीतिको विरुद्धमा भारतका लागि नेपाली राजदूतले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले नेपालको परराष्ट्र नीति फेरबदल हुन लागेको हो वा खलबल ल्याउन खोजिएको हो भन्नेबारे सरकारले जवाफ दिनुपर्ने बताए ।
यसैगरी, नेकपा एकिकृत समाजवादीका सांसद प्रेमबहादुर आलेले विश्वका हिन्दूहरुको पवित्र मन्दिर पशुपति मन्दिरमा मुसाले तार कोटेको बताउँदै, सरकारले तार काट्ने मुसालाई कारबाही नगरी पर्यटन मन्त्रीले संरक्षण गरेको आरोप लगाए ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले चितवनस्थित रामपुर क्याम्पसमा लागेको ताला सरकारले नखोलेको भन्दै आपत्ति जनाए । उनले प्रधानमन्त्रीले समेत अध्यापन गरेको उक्त क्याम्पसमा ताला लागेको ६ महिना भन्दा बढी हुँदा पनि ताला खोलनतिर ध्यान नगएको भन्दै सरकारको ध्यनाकर्षण गराए ।
सांसद डा अमरेशकुमार सिंहले आलु प्याजमा भ्याट लगाएर सरकारले गौरवशाली इतिहास कायम गरेको टिप्पणी गर्दै जनताको दैनिकीमा प्रत्यक्ष असर गर्ने यस्ता निर्णय तत्काल खारेज गर्न माग गरे ।
सर्लाहीमा किसानले घरमा पालेर बिक्री गरेको खसी बोकालाई भन्सार छलेर ल्याएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद सिंहले प्रहरीका यस्ता गतिविधिले सीमा क्षेत्रमा बसोबास गर्ने किसानलाई समस्या भएको बताए ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद अर्जुननरशिंह केसीले सदनमा हुने छलफल प्रक्रियाका लागि मात्र हुन नहुने बताए । संसदीय अभ्यासमा हुने हरेक छलफल र बहस परिणाममुखी हुनुपर्ने उनको भनाई छ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बजेट केहि ठुला नेताको निर्वाचन क्षेत्रमा केन्द्रित भएको उल्लेख गर्दै यसबारे लेखा सहित संसदमा जवाफ दिनुपर्ने माग गरे ।
त्यस्तै आजको संसद बैठकमा बौल्दै एमाले सांसद भगवती चौधरीले जेन्डर अडिटको बिषय उठाइन् । जेन्डर अडिट देशका हरेक निकायमा हुनुपर्ने सांसद चौधरीको माग छ ।
आजको बैठकमा विनियोजन विधेयकमाथि छलफल केन्द्रित छ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।