काठमाडौं। चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र त्यहाँको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच ग्रेट हल अफ पिपुल्स, बेइजिङमा सोमबार भेटवार्ता भएको छ ।
भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौँदेखिको सौहार्दपूर्ण एवम् अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी दिनमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जानेमा आफू विश्वस्त रहेको बताए ।
अध्यक्ष तिमिल्सिनाले घनिष्ठ मित्र एवम् विकासको साझेदार र असल छिमेकीका रूपमा नेपालले चीनसँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व र प्राथमिकता दिँदै आएको बताउँदै नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको बताए । पछिल्ला दिनमा नेपाल र चीनको विधायिकी सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले चीन नेपालका पर्यटक स्रोत मुलुकमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै आउट ब्याण्ड टुरिष्ट ग्रुपमा राखेकामा खुसी व्यक्त गरे ।
चीनको ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्त्वपूर्ण योगदान पु¥याउनेमा विश्वस्त रहेको जनाउँदै अध्यक्ष तिमिल्सिनाले चीनका विभिन्न सहरबाट सोझो हवाई उडान हुने विश्वास व्यक्त गरे ।
नेपाल–चीनबीच केरुङ÷रसुवागढी, हिल्सा÷पुराङ र तातोपानी÷झाङमु नाकामार्फत दुईतर्फी व्यापार सञ्चालन भएको उल्लेख गर्दै उनले आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाका सञ्चालन हुने विश्वास पनि व्यक्त गरे । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगका लागि अनुरोध पनि गरे ।
भेटमा चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष लीजीले भ्रमणका चीनको छेन्दुबाट पोखरा हवाई उडानका लागि चीन तयारी अवस्थामा रहेको जानकारी दिएका थिए । पोखरा विमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी जुन २१ देखि छेन्दु–पोखरा सिधा उडान गर्न चीन तयारी अवस्थामा रहेको उनले जानकारी गराए ।
अध्यक्ष तिमिल्सिना नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहेका छन् । तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणमा प्रतिनिधिसभाका सदस्य जीवन परियार, धवल शमशेर जबरा र प्रदीप यादव तथा राष्ट्रियसभाका सदस्य उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरीलगायत सहभागी छन् ।