काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् ।
हिजो बेलुका नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले गरेको समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरे ।
सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै उहाँले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको बताए ।
उनले सरकारले लगानीकर्ताको हितका लागि एकल बिन्दु सेवा केन्द्र, लगानीमैत्री कानुन तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको उल्लेख गरे । नेपालको ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गर्दै उनले नेपालमा लगानीकर्ता प्रतिफल ल्याउन कुनै समस्या नपर्ने, भाषाको समस्या नरहेको र समान सांस्कृतिक एवं बलियो सम्बन्धले थप सहज बनाउने बताए ।
भारतीय कम्पनीको लगानी रहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना सफलरुपमा अन्तिम चरणमा पुग्न लागेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले पश्चिम सेती, सेती नदी ९एसआर ६०, तल्लो अरुणलगायतका आयोजनाले दुवै देशको अधिकतम हित गर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतका सङ्घीयमन्त्री पीयूष गोयलले नेपाल र भारतबीचको सम्बन्ध अद्विप्तीय रहेको बताए ।
सीमा, भूराजनीतिले दुई देशबीचको सम्बन्धलाई विभक्त गर्न नसक्ने उल्लेख गर्दै उनले आफूहरु एकै परिवारका सदस्यका रुपमा रहेको बताए। प्रधानमन्त्री प्रचण्ड भारतका समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा चार दिने भारत भ्रमणमा छन् ।
प्रचण्ड बुधवार भारत गएका हुन् । हिजो दिनभर उनी उच्चस्तरीय भेटघाट र औपचारिक वार्तामा व्यस्त भए । त्यसक्रममा विभिन्न ७ वटा सम्झौता र समझदारी भएका छन् । आज पनि भेटघाट र छलफलका कार्यक्रम रहेका छन् । प्रचण्डसहित प्रतिनिधिमण्डल भोलि बेलुका स्वदेश फर्किने कार्यक्रम छ ।