काठमाडौं । बारा क्षेत्र नं.२, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् ।
बारा २ का उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् ।
यादव सप्तरी-२ का मतदाता हुन् । त्यसै गरी पुरुषोत्तम पौडेल बारा-३ र रमेश खरेल काठमाडौँ-१ का मतदाता हुन् । बार २ मा ३४ जना उम्मेदवार छन् । जसमध्ये १० राजनीति दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्तै, चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् ।
लामिछाने रास्वपाबाट उम्मेदवार छन् भने न्यौपाने एमालेका उम्मेदवार हुन् । यस्तै कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् ।
यसैगरि, तनहुँमा स्वर्णिम वाग्ले आफैलाई मतदान गर्न भने पाउनेछैनन् । उनको तनहुँ बाहिर मतदाता नामावली रहेकाले मतदान गर्न नपाउने भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा. स्वर्णिम वाग्ले बिहानदेखि मतदान केन्द्रहरुको अनुगमनमा हिँडेका छन् ।
उनले बिहान ७ बजे मतदान सुरु भएसँगै तनहुँको ब्यास २ स्थित सत्यवती माध्यामिक विद्यालयबाट अनुगमन सुरु गरेका हुन् ।