काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको आज ७४औँ वर्ष पूरा भएको छ । स्थापना दिवसको अवसरमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
७४ वर्षअघि आजकै दिन २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । राणा शासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।
महासचिवमा पुष्पलाल श्रेष्ठ थिए । २०१५ सालमा भएको पहिलो आम चुनावमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो । त्यसक्रममा केशरजङ्ग रायमाझीले पञ्चायती व्यवस्थाको समर्थन गरेलगत्तै कम्युनिस्ट पार्टी औपचारिक विभाजन भएको थियो ।
नेपालका कम्युनिस्ट पार्टीहरु धेरैपटक फुट र जुटको शृङ्खलामा सामेल भएका छन् । शृङ्खलाबद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिस्ट आन्दोलन धरापमा परेको टीका–टिप्पणी हुँदै आएको छ । २०७४ सालको चुनावमा गठबन्धन बनाएर चुनावमा गएका एमाले र माओवादी केन्द्र २०७५ सालको जेठ ३ गते एउटै पार्टी बनाउन सफल भए पनि फेरि अलग पार्टी भए ।
एमालेमा पनि विभाजन भयो । कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । साथै, उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण बामपन्थी शक्तिलाई आग्रह पनि गरे ।
प्रचण्डले देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको उल्लेख गरेका छन् ।