काठमाडौं । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो ।
बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
वन तथा भू–संरक्षण विभागले दिएको जानकारी अनुसार एकैदिन तीन सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।
नेपालमा खासगरी माघदेखि जेठसम्म बढी वनमा डढेलो लाग्ने गरेको छ । विभागको तथ्याङ्कअनुसार यही वैशाख १ गते २६ जिल्लाका एक सय १२, २ गते आठ जिल्लाका २८ , ३ गते १२ जिल्लाका ३२, ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका एक सय ८० स्थानमा डढेलो लागेको थियो ।
नेपालमा विशेष गरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका सहायक वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । पछिल्ला दिनमा दाङ, चितवन, अर्घाखाँची, प्यूठान, सुर्खेतमा बढी वन डढेलो लागेको उनले बताए । हाल देखिएको डढेलोमा छत्र डढेलो ९ठूलो रुखको माथिसम्म हुने आगलागी० सिन्धुली र रामेछापमा मात्र देखिएको छ भने अन्य जिल्लामा देखिएको सतही डढेलो ९जमिनमा झारपातमा हुने आगलागी० हो । यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ ।
वन डढेलो घटना मानवीय गतिविधिका कारण बढी हुने गरेको छ । स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ ।
शुक्रबारदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत
पछिल्लो एक सातादेखि अधिकतम तापक्रम बढेर तराईमा ४० डिग्री सेल्सियस तापक्रम पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा तापक्रम वृद्धि भएसँगै लु समेत चलेको छ ।
यो तापक्रम बढ्ने बेला भए पनि बिचबिचमा बादल थपिँदा तापक्रममा केही कमी हुने वा र उस्तै रहने अवस्था हुन्थ्यो तर अहिले त्यस्तो नहुँदा तापक्रम लगातार बढिरहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । अर्कोतिर वर्षाका गतिविधि हुन नसकेका कारण र नयाँ मौसमी प्रणाली विकास नहुँदा मौसम स्थिर रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बताए ।
आजदेखि सुदूरपश्चिमतिरबाट बाक्लो बादल देखिएकाले भोलिदेखि केही मौसममा त्यसको केहीअसर देखिने उनले अनुमान गरे । ठूलो वर्षा नभए पनि हल्का तथा क्षणिक वर्षा हुनसक्ने उनको भनाइ छ ।