नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विभिन्न वनका ५३ स्थानमा डढेलो लागेको छ। फागुनयता ती स्थानमा डढेलो लागेको हो।
हाल दुई हजार छ सय ५० हेक्टरमा डढेलो लागेको छ र डढेलो लागेको क्षेत्र बढ्न सक्ने डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले बताए।
‘फागुनभन्दा चैतमा यहाँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको पाइएको छ,' उनले भने।
धेरैजसो क्षेत्रमा आगो नियन्त्रणमा आएको गौतम बताउँछन्। ‘अहिले थप केही क्षेत्रमा डढेलो लागेको सूचना प्राप्त भएको छ,’ उनले भने।
डढेलो नियन्त्रणका लागि समय समयमा यस सम्बन्धी कार्यक्रम वन कार्यालयले गर्ने गरेको छ। सामुदायिक वनले हेरालु राख्ने गरेका छन्। उनीहरुले अग्नि नियन्त्रण समूहसमेत बनाएका छन्।
आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रनेलगायत धारणाका कारण स्थानीयले आगो लगाउने गरेको पाइएको गौतमले बताए।
‘पहिला–पहिला खोरिया फाड्न वनमा आगो लगाउने चलन थियो, हाल यस्तो गरेको पाइँदैन,’ उनले भने। डढेलोका कारण यहाँको वायुमण्डल धुवाँले ढाकेको छ।
धुवाँले आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या आउनेलगायत स्थिति रहेको मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताए। चश्मा प्रयोग गर्ने, बेला–बेलामा चिसो पानीले आँखा धुने, मास्क लगाउनेजस्ता उपाय अपनाउन उनले सबैमा आग्रह गरे।
नवलपुरमा करिब ७० हजार चार सय हेक्टर वन रहेको छ।