लम्कीचुहा । स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिहरुलाइ अग्नी नियन्त्रण तालिम आवश्यक रहेको लम्कीचुहा नगरपालिका कैलालीका मेयर सुशीला शाहीले बताएकी छिन् ।
जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुने र स्थानीय भूगोल तथा जनजीवनको जानकार हुने हुनाले उनीहरुलाई यो तालिम दिँदा पालिकाभरी नै आगलागी जोखिम र नियन्त्रणमा सहयोग हुने मेयर शाहीको भनाइ छ । लम्कीचुहा नगरपालिकामा आज पाँच दिने आगलागी व्यवस्थापन पुनर्ताजगी तालिमको उद्घाटन गर्दै मेयर शाहीले यस्तो बताएकी हुन् ।
युएसएआइडी तयार नेपाल परियोजनाको आर्थिक सहयोग र हिमालयन इन्स्टिच्युट अफ फायर एण्ड इमर्जेन्सी प्रालि (हाइफेस) को प्राविधिक व्यवस्थापनमा नगरपालिकाले यो तालिम आयोजना गरेको हो ।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै नगर उपप्रमुख जुना चौधरीले लम्कीचुहामा प्राय: यो गर्मी मौसममा लगभग दिन बिराएर आगलागीका दुर्घटना हुने गरेकाले तालिम अति आवश्यक रहेको बताइन् । लम्कीचुहा जंगल नै जंगलको बीचमा रहेका र यहाँ आगलागीको खतरा सधैँ रहने भएकाले निकै राम्रो तयारी गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै हाइफेस अध्यक्ष शुशील राउतले आगलागी जोखिम नेपालमा राष्ट्रिय समस्याको रुपमा चिनिएको र सबैका घरघरमा ग्यासरुपी बमको खतरा रहेको बताए । अध्यक्ष राउतले हालसम्म हाइफेसले १२ सय भन्दा माथिको संख्यामा फायर फाइटर उत्पादन गरिसकेको र अझ धेरै संख्यामा दक्ष जनशक्ति उत्पादन गरेर देशलाई आगोसँग जुध्नसक्ने बनाउन आफूहरु तयारीमा लागेको जानकारी दिए ।
उद्घाटनमा नगर प्रवक्ता लव बहादुर शाही, प्रमुख प्रशिक्षक अरुण पौडेल, विपद् संयोजक जीवन न्यौपाने, तयार नेपालका फिल्ड संयोजक प्रेमलाल कुश्मीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नगरपालिकाभरका वडाध्यक्ष, संचारकर्मी, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। पाँचदिनसम्म चल्ने तालिममा टीकापुर र लम्कीचुहा नगरपालिकाका २ महिला र १३ पुरुष गरी १५ जना प्रशिक्षार्थी रहेका छन् ।