काठमाडौँ । गाई/भैँसीलगायत पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग थप फैलने जोखिम बढेको छ । रोगको महामारी फैलिएपछि किसान चिन्तित भएका छन् । चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा फैलिएको रोगको प्रभावकारी उपचार हुन सकेको छैन । कतै/कतै पशुचौपाया मर्न थालेका छन् ।
पालिका तथा कृषि ज्ञान केन्द्रबाट लम्पी स्किन रोगको प्रभावकारी उपचारविधि पाउन नसकेको किसानको गुनासो छ । विगतमा फाट्टफुट्ट मात्रै पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण यसवर्ष थप फैलिएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कको पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनालका अनुसार गाई/भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने गर्छ ।
लम्पी स्किन रोग नियन्त्रणका लागि अहिलेसम्म ठोस उपचार र भ्याक्सिन विकास नभएकाले रोगको लक्षण अनुसार उपचार हुँदै आएको विज्ञको भनाइ छ । रोग लागेका पशुचौपायालाई चरनमा नलैजान तथा क्वरेन्टिन गरी उपचार गर्न पशु सेवा विभागका उपमहानिर्देशक एवम् पशुपक्षी रोग अन्वेषण तथा नियन्त्रण महाशाखाका प्रमुख डा.वरुणकुमार शर्माको सुझाव छ ।