वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपालकै उत्कृष्ट फायर ब्रिगेड तयार गरिने भएको छ । वीरेन्द्रनगरमा आयोजित फायर ब्रिगेड तालिम समापनका बक्ताहरुले यस्तो घोषणा गरेका हुन् ।
तालिम प्रदान गर्ने संस्था हिमालयन इन्टिच्यूट अफ फायर एण्ड इमर्जेसी सर्भिस (हाइफेस)का अध्यक्ष एवं प्रशिक्षक सुशिल राउतले यहाँको फायर ब्रिगेड देशकै उत्कृष्ट भएको घोषणा गरे । नगरपालिकाले युएसएआइडी तयार नेपालको आर्थिक सहयोगमा तालिमको आयोजना गरेको थियो ।
अघिल्लो साल ७ दिनसम्म दिइएको तालिमका सहभागीहरुलाई यसपटक थप ज्ञानसहितको ५ दिने पुनर्ताजगी तालिम दिइएको हो । तालिमको समापन गर्दै नगरप्रमुख मोहनमाया ढकालले तालिमबाट निस्केका दक्ष जनशक्तिलाई नगरमा भएको स्रोत र साधनको अधिकतम उपयोग गर्न लगाई आगलागीबाट नगरलाई सुरक्षित गरिने जानकारी दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत नरहरी ढकालले पालिकाको फायर ब्रिगेड ब्यवस्थापनमा पहिले केही सामान्य कमी कमजोरी भएता पनि अब आउने दिनमा चुस्त ब्यवस्थापन गर्दै अघि बढ्ने प्रतिबद्दता ब्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी सुर्खेतका अध्यक्ष रामलाल आचार्यले सुर्खेतमा आगलागीबाट विभिन्न घटनाहरु विगतदेखि नै हुने गरेकाले आउने दिनमा यस्ता जोखिमबाट सुरक्षित रहन सबै क्षेत्रका जनशक्ति एकजुट भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी दुल्लू नगरपालिका दैलेखका प्रवक्ता दीपेन्द्र कुमार पुरीले दैलेखमा हालसम्म आगलागी ब्यवस्थापनमा उल्लेख्य काम गर्न नसकिएकोले अब यस तालिमपश्चात प्रभावकारी योजना बनाएर काम देखाउने प्रतिबद्दता ब्यक्त गरे ।
तालिमको अवधीमा वीरेन्द्रनगरका विभिन्न समुदाय र विद्यालयमा समेत पुगेर आगलागी ब्यवस्थापन सम्बन्धी कक्षाहरु सन्चालन गरिएको थियो । अन्तिम दिन नगरका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, तयार नेपालका फिल्ड संयोजकहरु राजेश शोनी र श्रद्दा योगीकोसमेतको उपस्थितिमा आगलागी ड्रिल प्रदर्शनी गराइएको थियो ।
आगलागी ड्रिल पश्चात समापन कार्यक्रममा बसेका अधिकांश अतिथिले तालिपश्चात सहभागीले देखाएका कलात्मक प्रदर्शनी साथै अनुशासन र परेडको खुलेर प्रशंसा गरेका थिए । तालिममार्फत वीरेन्द्रनगर नगरपालिकाका १५ जना, दुल्लू नगरपालिकाका ४ जना, गुर्भाकोट र भेरीगंगा नगरपालिकाका २२ जना गरी २३ जना जनशक्ति दक्ष फायरम्यान उत्पादन भएको हाइफेसले जनाएको छ ।