काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ ह्योई तावर ल्हो (खरायो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
उनले भनेका छन्, नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेको छ र अहिले हामी धर्मनिरपेक्ष, समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं। यो आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा गर्न चाहन्छु।
नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो। यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्। यहाँ बसोबास गर्ने सबै जातजातिको आ(आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन्। यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत भएको उनले बताएका छन् ।
नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति भएको उनको भनाइ छ् । यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो। मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो। यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो। यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ। कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम किसानहरूको ल्होछार पनि भन्दछन्।
नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाईल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका मंगोल-चिनिया सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ। आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ संघरसंस्थाहरुले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन्।
तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ। यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ।