काठमाडौं । सरुवा रोगको जोखिम बढेसँगै यसको रोकथामका लागि पूर्व तयारी थाल्न स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिएको छ । मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद् र खानेपानी दूषित भइ हैजा जस्ता सङ्क्रामक रोग फैलिने जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले रोकथाममा जुट्न निर्देशन दिएको हो ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यमा पर्न सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ–आफ्ना ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आग्रह गरेको छ । यस्तै, महामारीलगायतको प्रतिकार्यका लागि स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकता अनुसार शय्याको व्यवस्थापन गर्न, औषधि उपकरणको तयारी गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयूकेएल र ट्याङ्करको पानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत ठाउँका पानीको नमुना परीक्षण गरेको थियो ।
परीक्षणमा खानेपानी सिधै पिउनयोग्य नरहेको भेटिएको हो । पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केयूकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन दिएको छ ।
नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले आज पनि अनुगमन गर्दैछ । विशेषगरी जारको पानीलाई लक्षित गरी अनुगमन गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्ड अनुसार जारको पानी वितरण भए नभएको समेत अनुगमन गरिने वाणिज्य विभागका निर्देशक हरि पङ्गेनीले बताए ।