जनकपुर । प्रदेश २ को नाम ‘मधेश प्रदेश’ कायम भएको छ । सोमबार प्रदेश २ सभामा ‘मधेश प्रदेश’ नाम राख्ने प्रस्तावमा भएको मतदानमा दुई तिहाइ मत प्राप्त भएपछि सो नाम कायम भएको हो । प्रदेश सभामा भएको मतदानमा ९९ मत परेको थियो। प्रस्तावको पक्षमा ८० मत परेको थियो ।
प्रदेश २ मा आठ वटा जिल्ला छन् । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा । प्रदेशको नामाकरणका लागि विभिन्न ६ वटा प्रस्ताव दर्ता भएका थिए। जसमा ५ वटा नाम थिए– मधेश, जानकी, मिथिला भोजपुरा, मध्य मधेश प्रदेश र जनक प्रदेश ।
तर, पुस १३ गतेको प्रदेश सभा बैठकले नाम र राजधानीको विषय टुंगो लगाउन सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको थियो। प्रदेश सभाको त्यस दिनको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो। समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव थिए। त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह थिए ।
समितिको प्रस्ताव सहितको प्रतिवेदन आइतबार (माघ २ गते)को प्रदेश सभा बैठकमा पेस भएको थियो । समितिले गोप्य मतदानबाट टुंग्याउन भनेर विभिन्न चार वटा नामहरु प्रस्तावित गरेको थियो । जसअनुसार, मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रस्तावित गर्ने तय भएको थियो ।
समितिको छलफलबाट अगल–अगल प्रस्तावलाई साझा प्रस्ताव बनाई साझा प्रस्तावक र समर्थक तय गरेको थियो। जसअनुसार, ‘मधेश’को प्रस्तावकमा शैलेन्द्रकुमार यादव र भरतप्रसाद साह थिए । सो प्रस्तावको समर्थकमा बबिता कुमारी, रानी कुमारी तिवारी, सावित्री देवी साह, जगतप्रसाद यादव र दिलिपकुमार साह थिए । सोमबार यादवले प्रदेश सभामा आफूहरुको प्रस्ताव पेश गरेका थिए ।
दोस्रो प्रस्तावका रुपमा जानकी थियो। जसको प्रस्तावक प्रमोदकुमार यादव र समर्थकहरु बेची लुङ्गेली, डिलीप्रसाद उप्रेती र नागेन्द्र राय यादव थिए। त्यस्तै, मिथिला भोजपुरा तेस्रो प्रस्तावित नाम थियो ।जसको प्रस्तावक शिवचन्द्र चौधरी र समर्थकहरु नागेन्द्र प्रसाद सिन्हा, प्रमिलादेवी दास र मन्जु कुमारी थिए । चौथो प्रस्ताव मध्य मधेश प्रदेश थियो। जसको प्रस्तावक राजेश्वर प्रसाद साह र समर्थकहरु शंकर प्रसाद चौधरी, ओमप्रकाश शर्मा र अशिया देवी थरुनी थिए ।
दलीय समर्थनको आधारमा हेर्दा जसपा, लोसपा र माओवादी केन्द्र ‘मधेश’, एमाले र नेकपा एकीकृत समाजवादी ‘जानकी’ र कांग्रेस ‘मिथिला भोजपुरा’को पक्षका थिए। बारा र पर्सा क्षेत्रका कतिपय सांसदहरु ‘मध्य मधेश’को पक्षमा उभिएका थिए । समितिले पहिलो प्रस्तावको रुपमा ‘मधेश’ माथि मतदान गराउने र त्यसमा दुई तिहाइ दोस्रो प्रस्ताव, त्यसमा पनि दुई तिहाइ नआएमा तेस्रो प्रस्ताव र तेस्रो प्रस्तावमा पनि दुई तिहाइ मत नआएका चौथो प्रस्तावमा मतदान गराउन सिफारिस गरेको थियो ।
यसअघि २०७६ चैत ४ गते पनि प्रदेशको नामको लागि प्रदेश सभामा निर्वाचन भएको थियो । त्यतिबेलाका कुनै प्रस्तावले पनि दुई तिहाइ मत पाउन सकेका थिएनन् ।
त्यतिबेला १०७ सदस्यीय प्रदेश सभामा दुई तिहाइको लागि ७२ मत आवश्यक पर्थ्यो। तत्कालीन नेकपाले प्रस्ताव गरेको ‘जानकी’को पक्षमा ३७ र विपक्षमा ७० मत परेको थियो। कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’को पक्षमा २८ र विपक्षमा ७९ मत परेको थियो । त्यतिबेला पनि कांग्रेस सांसद् राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए । सो प्रस्तावको पक्षमा ४२ र ६५ मत परेको थियो ।
त्यतिबेला सत्ता पक्ष रहेको समाजवादी पार्टी र राजपा नेपाल (पछि यी दुई पार्टीबीच एकता भएर जसपा बनेको थियो । गत भदौमा विभाजित भएर जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भएका छन्) को प्रस्ताव रहेको ‘मधेश’ नाम पनि अस्वीकृत भएको थियो । त्यतिबेला सो नामको पक्षमा ६० र विपक्षमा ४६ मत परेको थियो। एक मत बदर भएको थियो। सबैजसो प्रस्तावमा ‘क्रस भोटिङ’ भएको थियो । तर दुई तिहाइ भने कुनै प्रस्तावले पाउन सकेका थिएनन् ।