धादिङबेँसी । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाले आगलागीका घटना नियन्त्रण गर्न ब्यवस्थित योजना बनाउने भएको छ ।

नगरभित्र आगलागीका विभिन्न घटना हुँदै आएकाले त्यस्ता घटना नियन्त्रण गर्न अहिलेभन्दा सुब्यवस्थित योजना बनाएर जाने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताएका हुन् । नगरपालिका फायरब्रिगेड टिमका लागि आयोजना गरिएको पाँच दिने आगलागी ब्यवस्थापन तालिमको आज उद्घाटन गर्दै सुवेदीले यस्तो जानकारी दिएका हुन् ।

विपदका क्षेत्रमा राम्रो तयारी, पर्याप्त सामग्री र दक्ष जनशक्ति परिचालन गर्न सकिएमा सबैखाले विपदसँग जुधेर सुरक्षित नगर निर्माण गर्न सकिने अधिकृत सुवेदीको धारणा रहेको छ । उनले अहिलेसम्म नगरले गरेका प्रयास प्रशंसनीय रहेका र अब आधुनिक समयमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी नयाँ योजना बनाइने जानकारी दिए ।

युएसएआइडी तयार नेपालको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिकाले यो तालिमको आयोजना गरेको हो । तालिममा हिमालयन इन्स्टिच्युट अफ फायर एण्ड इमर्जेन्सी सर्भिसेस प्रालि (हाइफेस) ले प्राविधिक सहजीकरण गर्दैछ ।

उद्घाटन कार्यक्रममा स्वागत गर्दै तयार नेपालका विनोद बराइले तयार नेपालले विपदका विभिन्न क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिरहेको र तीमध्येको महत्वपूर्ण क्षेत्र आगलागी ब्यवस्थापन भएको जानकारी दिए । यस क्षेत्रमा हाइफेसको उत्कृष्ट दक्षता भएको र नगरपालिकाहरुबाट राम्रो प्रतिक्रिया आएकाले तालिमका लागि छनौट गरिएको बताए ।

कार्यक्रममा बोल्दै हाइफेसका अध्यक्ष सुशील राउतले आगोसँग लड्नेकुरा चानचुन नभइ निकै महत्वपूर्ण भएको बताए । उनले यो काममा ज्यानको जोखिम मोलेर अघि बढ्नुपर्ने भएकाले उच्च मनोबलका साथ तालिम लिन सहभागीहरुलाई आग्रह गरे ।

नगरपालिकाको विपद तथा वातावरण समितिकी प्रमुख राम्री नेपालीको अध्यक्षतामा सम्पन्न गरिएको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय लगायत विभिन्न कार्यालय र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तालिममा नीलकण्ठ नगरपालिकाका १६ र गोरखा नगरपालिका, गोरखाका ३ जना गरी १९ जना सहभागीहरु रहेका छन् । ५ दिने प्रशिक्षण पछाडि प्रशिक्षार्थीहरुलाई नगरका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमसहित पठाइने निनपाले जानकारी दिएको छ ।

प्रशिक्षण दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निवृत फायर चिफ चिरन्जीवि भण्डारी, पोखरा विमानस्थलका फायर चिफ अरुण पौडेल लगायत ६ जनाको समूह हाइफेसले ब्यवस्था गरेको छ ।