जनकपुर । महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश नं २ को आयोजनामा प्रदेश बालसहभागिता सम्बन्धी कार्यविधि २०७८ को मस्यौदामाथि छलफल तथा सरोकारवालाहरुको सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बाल क्लव, नागरिक समाज, विकास साझेदार, संयुक्त राष्ट्र संघिय संस्था, बाल क्लवका पूर्व सदस्यहरु तथा बालअधिकार अभियान्ताहरु तथा सरकारका निकायहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका सचिव केशवप्रसाद बिमलीको अध्यक्षतामा सम्पन्न भएको हो । बाल सहभागिता सम्बन्धि कार्यबिधिको मस्यौदा बाल सहभागीतामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल) र वल्र्ड भिजन नेपालको प्राविधिक सहयोगमा तयार गरिएको हो ।
छलफल कार्यक्रममा बोल्दै सचिव विमलीले बालसहभागिता सम्बन्धी कार्यविधिको मस्यौदालाई मन्त्रालयको नेतृत्वमा सबै सरोकारवालाहरुको सुझावलाई सम्बोधन गरी छिट्टै पारित गरि कार्यान्वयन गरिने बताए। उनले अर्थपूर्ण बालसहभागिताले नै बालअधिकारको सम्मान हुने, सशासनको प्रबद्र्धन हुने र बालमैत्री अभ्यासको विकास हुने भएकाले प्रदेश सरकारले प्राथमिकताका साथ बालबालिकाका सवालमा काम गरिरहेको जानकारी बताए ।
कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनलका प्रमिल अधिकारीले बालअधिकारको प्रबद्र्धनका लागि नीतिगत व्यवस्थाका लागि विकास साझेदार, नागरिक समाज र सरकार मिलेर काम गर्नुपर्ने बताए । बालबालिकाका सवालमा बन्ने नीति तथा कार्यक्रमहरुको योजना तथा कार्यान्वयनमा बालमैत्री अभ्यास हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले बालसहभागिता घरदेखी शासन प्रक्रियासम्म सुनिश्चित गरी बालअधिकार महासन्धि र संविधानमा प्रतिबद्धता गरिएका व्यवस्थाहरुको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।