काठमाडौँ । नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले १ महिनाअघि गृह मन्त्रालयमा सिफारिस गरेको थियो । तर, त्यसबारे गृह मन्त्रालयले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डीएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटनामा उनी निलम्बनमा छन् । प्रहरी हेडक्वार्टरले उनलाई बर्खास्त गर्न असार दोस्रो सातामा मन्त्रालयलाई सिफारिस गरेको थियो ।
प्रहरी नायव उपरिक्षक (डीएसपी) ठगबहादुर केसीबारे कुनै निर्णय नभएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) केदारनाथ शर्माले बताए ।
गृहले डीएसपी केसीलाई स्पष्टीकरण भने सोधेको छ । बुटवलस्थित टेलिकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो ।
सुन रीतपूर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खान खोजेको’ तत्कालीन एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन समितिको निष्कर्ष छ । सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भए पनि डीएसपी केसीले बदनियत राखेको उल्लेख गर्दै समितिले प्रतिवेदनमा भनेको छ, ‘सुन बरामद गरेपछि प्रचलित कानुन बमोजिम गर्नुपर्नेमा डीएसपीले आफ्नो पदीय दायित्व पुरा गरेको देखिएन ।’
समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागि प्रहरी हेडक्वार्टरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहसचिव विनोद प्रकाश सिंहले केसीलाई २०७९ पुस १४ मा निलम्बन गर्ने निर्णय गरेका थिए ।