आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यसवर्षको धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने रहेको छ ।
जलवायु परिवर्तनको कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्ने, जलवायु अनुकूलका प्रविधि प्रयोगमा जोड दिने यसवर्षको नाराको मुख्य उद्देश्य छ । आज धान दिवस तथा रोपाइँ महोत्सवको मुख्य कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद् नार्कको परिसर ललितपुरको खुमलटारमा हुँदैछ ।
२०६१ साल मङ्सिर २९ गते सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालमा झण्डै १५ लाख हेक्टर जमिनमा धान उत्पादन हुँदै आएको छ । यसवर्ष १४ लाख ९६ हजार हेक्टर जमिनमा रोपाइँ हुने प्रक्षेपण छ ।
अस्ति बुधवारसम्म १ लाख ६६ हजार ६ सय हेक्टरमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ । अहिले किसानलाई प्रमुख बाली धान रोपाइँको चटारो छ । उत्पादन बढाउने सरकारको उद्देश्य भए पनि मनसुन फेरबदल, समयमै बीउ, मलखाद नपाउने, सिँचाइको अभावलगायतका समस्या यथावत् छन् ।
सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकाशेको पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता छ । जनशक्तिको अभाव र लागत महँगो हुँदा पनि किसान समस्यामा छन् । यहीबेला पहाडी क्षेत्रमा लम्पी स्कीन रोगले गोरु सङ्क्रमित भएका छन् ।
जोत्ने गोरु नै बिरामी हुने र मर्ने भएपछि रोपाइँमा असर परेको छ । असार महिनालाई मानो रोपेर मुरी उब्जाउने महिनाका रुपमा पनि लिने गरिन्छ । धानको उत्पादन घटेमा किसानलाई मात्र होइन, समग्र अर्थतन्त्रमा पनि असर पुग्नेछ । पोहोर ५४ लाख ८६ हजार मेट्रिक टन धान फलेको थियो।
यो अघिल्लो वर्ष २०७८/७९ को तुलनामा ६ दशमलव ९४ प्रतिशतले धेरै हो । पोहोर परारको तुलनामा धान उत्पादन केही बढे पनि तीन वर्षअघिको तहमा पुग्न सकेको छैन । नेपालमा अहिलेसम्मकै सर्वाधिक धान उत्पादन आर्थिक वर्ष २०७७/७८ मा भएको थियो । त्यस वर्ष रासायनिक मलको व्यवस्थापन तथा मौसमले पनि साथ दिएका कारण ५६ लाख २१ हजार मेट्रिक टन धान फलेको थियो ।
साथै असार १५ का दिन आज दहीचिउरा समेत खाएर रमाइलो गर्ने चलन छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भइ शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाने गर्छन् ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशवासीहरुमा आह्वान गरेका छन् ।
जलवायु अनुकूलित धानका जातहरु, उत्पादन प्रविधिहरुको विकास र अवलम्बनमार्फत् दिगो रुपमा धान उत्पादन बढाउन सकिने उनको भनाइ छ ।
राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यथास्थितिमा धान उत्पादन वृद्धिको लक्ष्य पूरा हुन कठिन हुने भन्दै जलवायु अनुकूलका धानका जातको खेतीमा जोड दिएका हुन् । उनले भनेका छन्, ‘जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुका साथै यसको गति बढाउनु अत्यावश्यक छ ।’
पछिल्लो समय जलवायु परिवर्तनका कारण सुख्खा खडेरी, अतिवृष्टि, असमयको वर्षा, बाढी पहिरो, रोग तथा किराको प्रकोप आदि बढ्दा धान उत्पादनमा नकारात्मक असर बढ्दै गएकाले जलवायु अनुकूलका धानका जात र खेती प्रविधिको विकास गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
त्यसैले सरकारले यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ तय गरेको छ ।
