बझाङ । साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको सात जनाको परिवार छ।
गाउँमै बस्ने उनीहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो। दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्छन्।
यसबाट तामाङको परिवारले वार्षिक ५÷६ लाख आम्दानी गर्छ। त्योबाहेक उनीहरूको अन्य आम्दानीको स्रोत छैन।
एक महिना पुग्ने गरी मात्रै खाद्यान्न उत्पादन हुने धुलीमा ११ महिना किनेरै खानुपर्छ।
सोनामको परिवारमा वर्षभरिका लागि करिब ११ क्विन्टल चामल आवश्यक पर्छ। गएको वर्षमात्रै उनको परिवारले नौ क्विन्टल चामल किन्नुपर्यो। सहुलियत चामल (खाद्य संस्थानबाट प्राप्त) साढे दुई क्विन्टलमात्रै पाएपछि महँगोमा किन्नुपरेको सोनामले बताए।
तामाङ परिवारले एक वर्षमा एक लाख चामल ढुवानीमै खर्च गरे।
चामलसँगै अन्य दैनिक उपभोग्य सामानमा पनि वार्षिक झन्डै एक लाख खर्च हुने गरेको उनले सुनाए।
‘सदरमुकाम चैनपुरमा पाउने सामान साइपालमा पुग्दा चौबर हुन्छ,’ उनले भने, ‘साइपालको धुली पुग्न चैनपुरबाट पाँच दिन पैदलयात्रा गर्नुपर्छ । पाँच दिन लगाएर बोकेको सामान तेब्बरभन्दा बढी नै हुन्छ।’
चिसोले अलि बढी नै खाना खाने त्यसैमा दुवै छाक भात खाने हुँदा क्विन्टलका क्विन्टलनै खरिद गर्नुपरेको उनले बताए।
सोनामको जस्तै अवस्था छ, साइपाल गाउँपालिका–५ बलौडीका पदम बोहराको। पदमको परिवारमा पाँच छन् ।
उनको परिवारलाई वार्षिक सात क्विन्टल चामल आवश्यक पर्छ। हिउँदेबाली कोदो र जौँ एक महिनामात्रै पुग्ने भएपछि नियमित किनेरै खानुपरेको उनले बताए।
‘गत वर्ष खाद्यको चामल डेढ क्विन्टलमात्रै पाएको हुँ,’ उनले भने, ‘त्यो चामल दुई महिनामात्रै पुग्यो । बाँकीका महिना किनेरै खायौँ।’
धुलीबाट नजिकै पर्ने हुँदा साइपालवासीका दैनिक उपभोग्य सामान ताक्लाकोटबाटै आउँथे। खाद्य संस्थानले दिने मूल्यभन्दा सस्तोमा चिनियाँ खाद्यान्न साइपाल पुग्थ्यो।
तर, पाँच वर्षदेखि ताक्लाकोट नाका पूर्णरूपमा बन्द छ। नाका बन्द भएपछि साइपालवासी मारमा परेका छन्।
साइपाल–५ न्यूनाका वडाध्यक्ष जैपाल बोहराका अनुसार ताक्लाकोटमा नाकाबन्दी हुनुअघि वडा नं ३, ४ र ५ का गाउँ न्यूना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, धलौन, एैराडी, पराली, डाउगाउँलगायतमा चिनियाँ सामान नै हुन्थ्यो।
मान्छेले चामल बोकेर साइपालको धुली पु¥याउँदा प्रतिक्विन्टल (मोटो चामल) साढे २२ हजारमा पुग्छ । खच्चडमा बोकाउँदा प्रतिक्विन्टल १३ हजार पर्छ।
साइपालवासीले खाद्य सङ्कटको समस्या लिएर राज्यको दैलो चहार्न थालेको वर्षौं बितिसक्यो। करिब तीन हजार जनसङ्ख्या रहेको साइपालमा खाद्यान्नका लागि पालिकाले हरेक वर्ष सिंहदरबार चहार्दै आएका छन्।
साइपालमा खाद्यान्नका लागि यस वर्ष दुई हजार पाँच सय क्विन्टल चामलको ठेक्का परेको छ। चालु आर्थिक वर्षमा साइपालमा ढुवानी गर्ने गरी देवराज जोशीले ठेक्का लिएका छन्। तर चालु आवको १० महिना बित्नै लाग्दासमेत एक हजार पाँच सय क्विन्टलमात्रै चामल पुगेको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए।
साइपालमा कतै बढी त कतै कम खाद्यान्न गएकोबारे प्रमुख जिल्ला अधिकारी नारायण पाण्येयले पनि वितरणमा एकरूपता हुनुपर्ने बताए। योभन्दा अगाडि मनोमानी ढङगले चामल वितरण गरेको पाइएको उनले बताए।