काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश सोचेभन्दा फरक रहेको बताएका छन। सोमवार काठमाण्डौमा आयोजित ६२ औँ रङ्गमञ्च दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताए ।
मन्त्री किरातीले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताए । उनले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि बताएका छन ।
उनले भने,‘देश जहाँ छोयो त्यहीँ फाटेको छ,बनाउन सजिलो छैन । १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दैछु, देश अर्कै रहेछ । म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो हात्तीको होइन । हामी युगको परीक्षा दिँदैछौँ । व्यक्तिको होइन । हामी फेल भयौँ भने युग फेल हुन्छ । व्यवस्था फेल हुन्छ ।’
मन्त्री किराँतीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनहरूको स्थान नहुँदा पछि परिरहेको बताए। उनले बेरोजगार भएरमात्रै विद्यार्थीहरू विदेश जाने नगरेको भन्दै नेपालको शिक्षामा नै विष हालेको बताए ।
मन्त्री किराँतीले नेपालमा स्वदेशी सपनालाई मर्न नदिने गरी काम हुन जरुरी रहेको बताएका छन ।