कास्की । किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ ।
प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपक्षी तथा माछापालनको नमूना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग परियोजना प्रस्ताव आह्वान गरेको छ ।
नमूना फार्म स्थापना गर्नेलाई परियोजनाको पहिलो वर्षको प्रस्तावित लागतको ५० प्रतिशत अनुदान सरकारले उपलब्ध गराउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा बताउनुहुन्छ ।
प्रदेशमा ४०० नमूना फार्म स्थापना गर्ने उद्देश्यले सरकारले आव २०७५÷७६ मा रु ४० करोड बजेट विनियोजन गरेको छ । कृषितर्फ नमूना फार्मका लागि रु २५ करोड तथा पशुपक्षी र माछापालनका लागि रु १५ करोड बजेट छ ।
मन्त्री थापाका अनुसार साना, व्यवसायउन्मुख, व्यावसायिक र उद्यमी नमूना फार्म सञ्चालन तथा स्थापना गर्न प्रदेशका कृषक, कृषि उद्यमी, फार्म, कम्पनी, समूह तथा सहकारी सङ्घ÷संस्थाले प्रदेशको ज्ञान तथा विज्ञ केन्द्रमा दर्ता गराएका परियोजना प्रस्तावलाई अध्ययन मूल्याङ्कन तथा फिल्ड भ्रमण गरी साझेदारी सम्झौता गरिनेछ ।
साना नमूना फार्मका लागि पहिलो वर्षको प्रस्तावित लागत रु १० लाख, व्यवसायउन्मुखका लागि रु १० लाखभन्दा बढी तथा व्यावसायिक नमूना फार्मका लागि रु २५ लाखभन्दा बढी र उद्यमी नमूना फार्मका लागि रु ५० लाखभन्दा बढी लागत रहनुपर्ने मन्त्रालयले जनाएको छ ।