इक्वेडरको राजधानी क्विटोमा रहेको एस्टाडियो ओलिम्पिको आताहुआल्पा रंगशाला सामान्य रंगशाला होइन।
यो रंगशाला समुद्री सतहबाट करिब २,८५० मिटर माथि अवस्थित छ।
तुलनाका लागि हेर्ने हो भने, काठमाडौंको दशरथ रंगशाला भन्दा यो करिब १,५०० मिटर बढी उचाइमा पर्छ।
यही उचाइ पछिल्लो समय इक्वेडरको राष्ट्रिय फुटबल टिमका लागि सबैभन्दा ठूलो हतियार बनेको छ।
फुटबलमा केवल खेलाडीको सीप र रणनीति मात्र होइन, वातावरण र भूगोलले पनि ठूलो भूमिका खेल्छ भन्ने कुराको सबैभन्दा राम्रो उदाहरण यही रंगशाला हो।
समुद्री सतहबाट जति माथि जाँदै गयो, हावामा अक्सिजनको मात्रा त्यति नै घट्दै जान्छ।
२,८५० मिटरको उचाइमा अक्सिजन करिब २५ देखि ३० प्रतिशतसम्म कम हुन्छ।
यसको सीधा असर खेलाडीको शरीरमा पर्छ—सास फेर्न गाह्रो हुन्छ, मांसपेशी चाँडै थाक्छन् र खेलको गति कायम राख्न कठिन हुन्छ।
अब सोच्नुस, समुद्री सतह नजिकै हुर्किएको कुनै युरोपियन, अफ्रिकन वा एशियन खेलाडी अचानक यस्तो उचाइमा खेल्नुपर्यो भने के हुन्छ?
खेलको सुरुवातमा सबै ठीक देखिए पनि दोस्रो हाफ पुग्दासम्म उनीहरूको ऊर्जा घट्दै जान्छ।
सामान्य पास पनि भारी लाग्न थाल्छ र प्रेसिङ गर्न सक्ने क्षमता हराउँदै जान्छ।
तर इक्वेडरका खेलाडीहरूका लागि यो अवस्था नयाँ होइन।
उनीहरू यही उचाइमा जन्मिएका, हुर्किएका र खेल्दै आएका हुन्।
तिनको शरीर, फोक्सो र सहनशक्ति यस्तै वातावरणमा खेल्न अभ्यस्त भइसकेको हुन्छ।
यही कारण घरेलु मैदानमा इक्वेडरको टिम अन्तिम ३० मिनेटमा अझ खतरनाक देखिन्छ।
धेरै विदेशी टिमहरूले क्विटोमा खेल्दा एउटै गल्ती दोहोर्याएका छन्।
उचाइको असरबाट बच्न भन्दै म्याचभन्दा एक वा दुई दिनअघि मात्र क्विटो पुग्ने।
तर समस्या के हो भने, यति छोटो समयमा शरीरले अक्सिजनको कमीमा आफूलाई ढाल्न सक्दैन।
म्याचको ६० मिनेट कटेपछि ठूला स्टार खेलाडीहरू हात घुँडामा राखेर सास फेर्दै देखिन्छन्।।
त्यही बेला इक्वेडरले खेलको गति बढाउँछ, प्रेसिङ गर्छ र निर्णायक गोल निकाल्छ।
यो कुनै संयोग होइन, यो उचाइलाई बुझेर बनाइएको रणनीति हो।
पछिल्ला केही वर्षका नतिजा हेर्ने हो भने, इक्वेडरले घरेलु मैदानमा ब्राजिल, उरुग्वे, कोलम्बिया जस्ता बलिया टिमहरूलाई पनि हराएको छ।
कागजमा हेर्दा यी टिमहरू इक्वेडरभन्दा बलिया देखिन्छन्, तर क्विटोमा खेल्दा अवस्था उल्टो हुन्छ।
यहाँ खेल जित्ने मात्र होइन, शारीरिक रूपमा टिक्न सक्नु नै ठूलो चुनौती बन्छ।
एस्टाडियो ओलिम्पिको आताहुआल्पा अब केवल रंगशाला मात्र होइन।
यो विपक्षी टिमका लागि शारीरिक र मानसिक परीक्षण गर्ने मैदान बनिसकेको छ।
यहाँ फुटबल केवल खुट्टाले होइन, फोक्सोले पनि खेलिन्छ।
अब नेपाली सन्दर्भमा सोचौँ।
दशरथ रंगशाला समुद्री सतहबाट करिब १,४०० मिटर माथि अवस्थित छ।
हामीले काठमाडौंमा खेल्दा महसुस गर्ने उचाइको असर इक्वाडोरमा झन् तीव्र हुन्छ।
यसले देखाउँछ कि भूगोल पनि फुटबलको एउटा अदृश्य खेलाडी हो।
इक्वेडरले यो कुरालाई कमजोरी होइन, शक्तिमा बदल्यो।
घरेलु म्याचहरू जानाजानी क्विटोमै राखियो।
कम खर्चमा प्राकृतिक रूपमा उच्चस्तरीय सहनशक्ति विकास गर्ने वातावरण बनाइयो।
युरोपका ठूला क्लबहरू करोडौं खर्च गरेर अत्याधुनिक ट्रेनिङ गर्छन्।
इक्वेडरले भने उचाइलाई नै आफ्नो ट्रेनिङ सिस्टम बनायो।
यही कारण पछिल्लो समय इक्वेडर दक्षिण अमेरिकी फुटबलमा झन् प्रतिस्पर्धी बन्दै गएको छ।
अन्ततः, फुटबल केवल पैसाको खेल होइन।
कहिलेकाहीँ वातावरण, उचाइ र भौगोलिक अवस्थाले नै खेलको परिणाम निर्धारण गर्छ।
एस्टाडियो ओलिम्पिको आताहुआल्पा त्यसको जिउँदो प्रमाण हो।
अब प्रश्न तपाईंकै लागि—
यस्ता उचाइमा खेल्नु घरेलु टिमको वैध फाइदा हो,
कि फुटबलको निष्पक्षतामाथि प्रश्न उठाउने कुरा?
तपाईंको विचार कमेन्टमा लेख्नुस
