काठमाडौं । सरकारले अफगानिस्तान पठाएका श्रमिकहरुको विवरण सोमबारसम्म बुझाउन वैदेशिक रोजगार व्यवसायीहरुलाई निर्देशन दिएको छ। वैदेशिक रोजगार विभागले श्रमिकलाई अफगानिस्तान पठाउने म्यानपावर कम्पनीहरुलाई टेलिफोन गरेर सोमबारसम्म सबैको विवरण बुझाउन निर्देशन दिएको महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए।
२०७७ वैशाख १ गतेदेखि चैत सम्ममा ८५१ जना र यो वर्ष ३ सय ३० जना वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर अफगानिस्तान रोजगारीका लागि पुगेको विभागको तथ्यांक छ।
त्यसअघि गएका र अझै नफर्किएका श्रमिक भए त्यो पनि विवरण बुझाउन विभागले भनेको छ। विगत दुई वर्षमा दुईवटा मात्रै म्यानपावर कम्पनीले नेपाली श्रमिक अफगानिस्तान पठाएका छन्। युनिभर्सल कनेक्सन र एफआईएस म्यानपावर कम्पनीले मात्रै रोजगारीका लागि अफगानिस्तान पठाएको पाइएको छ।
अफगानिस्तानमा विद्रोही समूह तालिवानले राजधानीबाहेक सबै प्रमुख सहर कब्जा गरेपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्न सरकारले चासो दिएको हो। कतिपय देशले आफ्ना नागरिक उद्धार गर्न थाले पनि नेपालले भने अझै पहल नगरेको भन्दै चौतर्फी विरोध भइरहेको छ।
सरकारले आइतबारबाट उद्धारका लागि सक्रियता बढाएको हो। नेपालीको उद्धार गर्न सरकारले नेपालस्थित विभिन्न देशका नियोगहरूसँग छलफल थालेको छ। त्यहाँ रहेका करिव १५ सय नेपालीलाई फर्काउनका लागि विभिन्न नियोगहरूलाई पत्राचार गर्दै नेपालीको उद्धारमा सहयोग गर्न आग्रह गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन् ।
‘हामीले अमेरिका, बेलायत र युरोपियन युनियनका यहाँस्थित नियोगसँग छलफल गरिरहेका छौं। तपाईँहरुका नागरिक फर्काउँदा हाम्रा नागरिकको पनि उद्धार गरिदिनु परो भनिरहेका छौं’, प्रवक्ता लम्सालले भनिन् । परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार त्यहाँका विभिन्न दूतावास र संयुक्त राष्ट्र संघीय एजेन्सीहरूमा करिब १५ सय नेपाली कार्यरत छन् ।