बुटवल । लुम्बिनी प्रदेश सभाका विपक्षी चार दलले प्रदेश प्रमुख अमिक शेरचनसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वका सरकार अल्पमतमा रहेकाले यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संसदीय दलका नेताहरुले प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षण पत्र बुझाउँदै बहुमतको नँया सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका हुन्।
आफूहरुको पक्षमा प्रदेशसभामा हाल कायम रहेको ८० सदस्यमध्ये ४२ जना बहुमत सांसदको समर्थन रहेको र अहिलेको सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको बताएका छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनोडिया, माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चा नेपालका संसदीय दलका नेता तारा जिसीले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्र बुझाउँदै चार दलका ३९ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख शेरचनले संविधान र कानुनसम्मत भए नभएकोबारे आफूले अध्ययन गरी निर्णय गर्ने बताए ।