सामाजिक सञ्जाल भनेको विश्वका मानिसहरूलाई एक आपसमा जोड्ने र उनीहरुका विचार, जानकारी, र सामग्रीहरु साझा गर्ने एक डबली हो। यसले मानिसहरूलाई अनलाइनमा संवाद गर्न, सूचना आदान-प्रदान गर्न र सम्बन्ध स्थापना गर्न मद्दत गर्दछ। उदाहरणका लागि फेसबुक, ट्विटर, मेसेन्जर, भाइबर, इन्स्ट्राग्राम, रील्स, व्हाट्सप इत्यादि । सामाजिक सञ्जालले मानिसहरुबीच सूचना र सञ्चारको मात्र काम नगरी यसले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगार, बन्द-व्यापार, सार्वजनिक जानकारी इत्यादि क्षेत्रहरुमा पनि महत्वपूर्ण सूचना, ज्ञान र जानकारी प्रदान गर्दछ । तर, यसको नकारात्मक प्रयोगले भने समाजमा गलत सूचनाहरु प्रवाह गर्ने देखि व्यक्ति, परिवार र संस्थाहरुको मूल्य, मान्यता र प्रतिष्ठामा आँच पुर्याउने नकारात्मक प्रभाव पार्ने कामहरु पनि हुन सक्छन् । यस लेखमा सामाजिक सञ्जालको महत्व, यसको गलत प्रयोगले पुर्याएका असरहरु र त्यसलाई सुधार र नियन्त्रण गर्ने उपायहरु बारे सामान्य बहस र चर्चा गरिने छ ।
बिजुलीले उज्यालो प्रकाश दिन्छ, तर त्यसको गलत प्रयोग भएमा करेन्ट लाग्छ र मानिसको मृत्यु समेत हुन जान्छ । यातायातको साधनले मान्छेको यात्रा सहज, सरल र गन्तव्यमुखी बनाउँदछ, तर त्यसको गलत प्रयोगले दूर्घटना हुन जान्छ र यात्री र चालक दुवैको मृत्यु समेत हुने गर्दछ । औषधिको सहि प्रयोगले मानिसको घाउ, चोट र बिमार् निको हुन्छ, तर सो को गलत वा अधिक प्रयोगले मान्छेको जीवन पनि बरबाद हुन सक्छ । त्यस्तै, सामाजिक सञ्जालको सहि प्रयोगद्वारा मानिसहरुले सहि सूचना, शिक्षा र ज्ञान हासिल गर्न सक्छ भने यसको गलत प्रयोगले समाजमा नकारात्मक सूचना प्रवाह हुन जान्छ। मानिसको इज्जत, प्रतिष्ठा र मर्यादामा नकारात्मक असर पर्दछ । यसले समाजमा विभिन्न खाले हिसा पनि निम्त्याउँन सक्दछ । यस सम्वन्धमा फेसबूकका संस्थापक मार्क जुकरवर्ग भन्नु हुन्छ " सामाजिक सञ्जाल भनेको एउटा प्ल्याटफर्म मात्र होइन यो समाजको प्रतिविम्ब पनि हो ।" त्यस्तै प्रसिद्ध अमेरिकन डिजिटल लिडर Eric Qualman ले " सामाजिक संचार भनेको मान्छेलाई प्रभाव पार्न होइन, बरु त्यसको परिणाम देखाउन प्रयोग गर्नु पर्दछ । त्यस्तै सं.रा. अमेरिकाका वेब डेव्ल्पर Matt Mullenweg ले "सामाजिक सञ्जाल भनेको प्रविधिको कुरा होइन, यो त मानिसको विषय-वस्तु हो भन्नू भएको छ ।" तसर्थ, सामान्य भाषामा भन्दा कुनै पनि समाजको वास्तविकता के कस्तो अवस्थामा रहेको छ भन्ने कुरा सामाजिक संचार र सञ्जालहरुको प्रयोगको स्वरुप अध्ययन गरेर निश्कर्ष निकाल्न सकिन्छ ।
हाल आएर, विभिन्न देशहरुमा सामाजिक सन्ञालको गलत प्रयोग र हिंसामुखी कुरालाई नियन्त्रण र रोकथाम गर्न प्रहरीको साइबर ब्युरियोहरु खडा गरी निरुत्साहित गर्न प्रयत्न भै रहेको छ । तसर्थ, यस लेखमा खासगरी सामाजिक सञ्जालको विषयमा निम्न १० बुँदाहरुमा आधारित भएर सामाजिक सञ्जालको सकारात्मक तथा नकरात्मक कुराहरुको बहस तथा विश्लेषण गर्दै सकारात्मकतालाई सबल र विकास गर्ने र नकारात्मकलाई रोकथाम र नियन्त्रण गर्ने उपायहरुबारे उल्लेख गरिएको छ ।
१. सामाजिक डबली:
खासगरी एक्काइसौं शताव्दीको प्रारम्भसंगै विद्द्युतिय सामाजिक सञ्जालमा महत्वपूर्ण विकास भएको मान्न सकिन्छ । विगत १५ वर्षहरुमा सामाजिक सञ्जालका क्षेत्रहरुमा नयाँ विकास र उन्नति भएको देखिन्छ । सामाजिक सञ्जालहरु मार्फत प्राप्त सूचना, जानकारी र शिक्षाले देशका नागरिकहरुलाई, खासगरी युवा पंक्तिहरुलाई विश्व एक ग्राम हो र त्यहाँका बासिन्दाहरु विश्व नागरिक हुन् भन्ने आभास पनि दिलाएको छ । यसले उनीहरुमा आफ्नो शिक्षा, सीप र जानकारीहरुलाई थप तिखार्ने र त्यसको विश्व बजारमा सदुपयोग गर्ने अवसर प्रदान गरेको छ । तर बजार भन्ना बितिकै त्यहाँ राम्रो र असल कुराहरु मात्र हुँदैन, त्यहाँ शोषण, उत्पिडन र विविध प्रकारका हिंसाहरु पनि हुन सक्दछ भन्ने कुराको सबैले हेक्का राखेर सचेत बन्नु पर्दछ ।
२.शिक्षा, सूचना र ज्ञान :
विद्युतीय सामाजिक सञ्जालहरु भनेका शिक्षा र सूचनाका महत्वपूर्ण माध्यम हुन् । यसले प्रयोगकर्ताहरुलाई आफ्नो सीप र क्षमता विकास गर्ने ठूलो अवसर पनि प्रदान गरेको हुन्छ । तर सामाजिक सञ्जालमा उपलव्ध शिक्षा, सूचना र जानकारीहरु सदैव सहि र भरपर्दो नहुन पनि सक्दछ । यदि सामाजिक सञ्जालहरुमा उपलव्ध सूचना र जानकारीहरुको बारेमा सहि र गलत के हो त्यसमा उल्लेखित कुराहरुको सत्य, तथ्य र आधिकारीकता खुट्याउने क्षमता हुँदैन भने मानिसहरु गलत कुराको सिकार पनि बन्न सक्दछ । पछिल्लो चरणमा धेरै नेपालीहरु सामाजिक सञ्जालहरुको कारण जोखिम, अप्ठ्यारो र संकटमा परेको र कैयन पटक ठगिएका कुराहरु पनि थाहा हुन आएको छ । हाल आएर नेपाल सरकारले विद्ध्युतिय संचार माध्यम र सामाजिक सञ्जालहरुको गलत प्रयोग गर्नेहरुको निम्ति देशको बनेको कानून अनुसार कानूनी कार्यबाही चलाएको उदाहरणहरु पनि थप्दै आइरहेका छन् ।
३. मनोरञ्जनको माध्यम:
सामाजिक सञ्जाल पक्कै पनि स्वस्थ मनोरञ्जनको माध्यम पनि हो । आजभोली थुप्रै मानिसहरुले यसको माध्यम आफ्नो सृजनाहरु, जस्तै गीत, संगीत, नृत्य, कथा, कविता, हाँस्यव्यङ्ग, चुट्किला आदिको माद्यमबाट साझा गर्ने गरेका छन् । कैयनले आफूले खिचेका राम्रा राम्रा तस्वीरहरु साझा गर्ने गरेका छन् । तर कतिपय मानिसहरुले व्यक्तिगत, गुटगत र नीहित स्वार्थको कारण मानिसहरुको व्यक्तिगत चरित्र हत्या गर्ने, संस्थागत रुपमा बदनाम गर्ने, तथानाम गाली बर्षाउने जस्ता गलत कामहरु पनि गरेको देखिन्छ । यसरी नीहित स्वार्थ वा अपराधिक सोचले कसैमाथि हिंसा, शोषण र उत्पिडन गर्नु साह्रै गलत कुरा हो । जसले गर्दा उनीहरुको गलत व्यवहारको कारण कानूनी कार्यबाहीमा परेका कुराहरु पनि बिस्तारै सार्वजनिक हुँदै गरेको कुरा सत्य नै हो ।
४. विपतको सूचना:
सामान्यतया, आजभोली प्रकोप वा विपतको वेला सामाजिक सञ्जालहरुको माध्यम मानिसहरुले सूचना, शिक्षा र जानकारीहरु पाइरहेको पाइन्छ । भूकम्प, बाढी पहिरो, यातायात दूर्घटना र आगजनी जस्ता प्रकोपको वेला मानिसहरुले आवश्यक सूचना, साथ सहयोग र राहत पनि पाएको देखिन्छ । तर, समय समयमा यस्ता कुराहरुमा पनि मजाक गर्ने, गलत सूचनाहरु प्रवाह गर्ने र गलत तरिकाले चन्दा उठाउने र दुरुप्रयोग गर्ने गरेको पनि देखियो । कसैले पनि आपत विपतको सूचनाको गलत प्रयोग गर्नु हुँदैन ।
५. जन स्वास्थ्य सम्बन्धी जानकारी:
सामाजिक सञ्जालहरुको माध्यम मानिसहरुले जन स्वास्थ्य, शिक्षा, सूचना र जानकारीहरु पाइरहेको देखिन्छ । कतिपय स्वास्थ्यवर्धक सामग्रीहरु पनि साझा भैरहेको देखिन्छ । तर कतिपय नीहित स्वार्थ हुनेहरुले यसखाले प्लाट्फर्महरुलाई प्रयोग गरेर गलत सूचनाहरु प्रवाह गर्ने, भर पर्न नालायक वस्तु तथा सामग्रीहरुको बेच(बिखन गर्ने आदि कामहरु पनि भैरहेको देखिन्छ । कैयनले स्वास्थ्यवर्धक र भिटामिन भनेर गुणस्तरीयहिन वस्तु तथा सामग्रीहरु पनि बेचविखन गरेको पाइन्छ । अन्यथा, सामाजिक सञ्जालहरुको माध्यम सरकार र नागरिक समाजले जन स्वास्थ्य सम्वन्धी चेतना र जानकारीमुलक सूचनाहरु प्रवाहित गरेर समाजलाई गुण लाएको देखिन्छ ।
६. अन–लाइन व्यापार:
आजभोलि, अन-लाइन व्यापारको बाढी आएको छ । यसप्रति सामाजिक सञ्जालका प्रयोगकर्ताहरु आकार्षित भएको पाइन्छ । तर, यसको पनि फाइदा र बेफाइदा दुवै हुन सक्दछ । यसमा व्यवसायिकता र नैतिकताको ठूलो महत्व हुन्छ । यसले एकातिर ग्राहकको समय बचाउनुको साथै सहजता प्रदान गरेको छ र आफ्नो घर-डेरामा नै सामानहरु आपूर्ति भएको देखिन्छ । तर कहिलेकाहीँ, व्यापारी तथा विचौलियाहरुले यसको गलत प्रयोग गरेर ग्राहकहरु ठगेको र बैंकिङ्ग प्रकृयामा ठगी गरेको र निम्न गुणस्तरको सामाग्रीहरु भिडाएर ठगेको भन्ने पनि सुनिन्छ । कहिलेकाहीं दराज-अनलाइन जस्तो स्थापित ब्यापार व्यवसायले पनि ग्राहकहरुलाई असंतुष्ट र निरास बनाएको कुरा मिडियामा धेरैचोटि प्रकाशीत भएको देखिन्छ ।
७.सूचनामा पहुँच र सशक्तिकरण:
कुनै वेला मिडिया भन्ने कुरा सर्वसाधारण र सुविधाविहीन व्यक्ति तथा मानिसहरुको निम्ति पहुँचपूर्ण थिएन । अहिले पनि कतिपय मानिसहरुको निम्ति मूल प्रवाहका मिडियामा सहज पहुँच छैन । यस्तो अवस्थामा सचेत हरेक सचेत मनिसहरुका लागि सामाजिक सञ्जालहरुले आफ्ना सोच, विचार र समाचारहरु साझा गर्न पाउने अवसर प्रदान गरेको छ । यो एक नागरिक सशक्तिकरणको निम्ति एक महत्वपूर्ण कुरा पनि हो । तर कतिपय नीहित सोच र स्वार्थ भएका मानिसहरुले यसको गलत प्रयोग गर्ने गरेका छन् । गलत सूचना प्रवाह गर्ने, मानिसका तस्वीरहरुमा नराम्रो टिकाटिप्पणी गर्ने, तस्वीरहरु जोडेर व्यक्तिहरुलाई गाली बेइज्जत गर्ने, इत्यादी । जसले गर्दा उनीहरुको विरुद्ध कानूनी कारबाही गरेर त्यस्ता व्यक्तिहरुलाई जेलको हावा खुवाएको उदाहरणहरु पनि रहेका छन् ।
८. लत र मनो-सामाजिक असर:
सामाजिक सञ्जालका जतिसुकै फाइदा भएतापनि यसप्रतिको लत र गलत प्रयोगले मानिसहरुको सृजनशीलता र मनो-सामाजिक बिज्ञानमा ह्रास आउनका साथै उनीहरुमा नकरात्मक असर पर्न थालेको तथ्य यस सम्वन्धी गरिएका विभिन्न अध्ययन र अनुसन्धानहरुले पुष्टि गरेका छन् । यसले गर्दा कैयन मान्छेहरुमा निन्द्रा नलाग्ने (इन्सोमेनिया), अन्य काममा ध्यान नजाने, एकान्त रुपमा समय गुजार्ने, विद्युतीय सामाजिक सञ्जालहरुमा सक्रिय देखिएतापनि यथार्थमा असामाजिक बन्दै जाने, अझै बालबालिकाहरुमा विद्युतीय खेलहरुमा अभ्यस्त भएको कारण शारीरिक अभ्यास गर्ने र बाहिर खेल मैदानमा खेल खेल्ने कुराहरुमा व्यापक कमी आएको देखिन्छ।
९. मानव अधिकारको संरक्षण र सम्बर्द्धन :
सामाजिक सञ्जालहरुको सहि प्रयोगले मानिसहरुले मानव अधिकारको विषयमा विभिन्न शिक्षा, सूचना र ज्ञान हासिल गर्नाको साथै मानवअधिकारका उल्लंघनका कुराहरुलाई रोकथाम र नियन्त्रण गर्न सक्दछ । तर यसको गलत प्रयोगले समाजमा हिंसा बढाउने, मानव वेचबिखन जस्ता जघन्य अपराधलाई प्रोत्साहित गर्ने र व्यक्तिका मानवअधिकार उल्लंघन गर्ने कामहरु पनि उतिकै बढेको देखिन्छ। मानिसका व्यक्तिगत चरित्र हत्या गर्ने, अन-लाइन यौन शोषण र दुर्व्यवहार गर्ने र मनोबैज्ञानिक दबाव र पीडा दिने जस्ता मानव अधिकार उल्लंघन गर्ने कामहरुले गर्दा कतिपय अवस्थामा सामाजिक सञ्जालहरु प्रति मानिसका सोचमा नकारत्मकता बढेको पनि देखिन्छ ।
१०. विधि, व्यवस्था र सामाजिक सञ्जालहरु:
समाजमा जुनसुकै नविनतम कुराहरुको सृजना भए तापनि पनि त्यस वस्तु र विषयमा कैयनले सकारात्मक ढङ्गले उपयोग गर्छन् भने कतिपयले नकारात्मक र प्रत्युत्पादक ढङ्गले प्रयोग गर्छन् । जब मानिसहरुले राम्रा कुराहरुको गलत ढङ्गले प्रयोग गर्छन् वा त्यसको कारण व्यक्ति र समाजको विकासमा असर पर्दछ, त्यसैले, सरकारले यस्ता कुराहरुको रोकथाम र नियन्त्रण गर्न साइबर अपराध सम्वन्धी नयाँ नियम कानूनहरु तर्जुमा गरेका छन् ।
साइबर अपराध भन्नाले सामान्यत, डिजिटल डिभाइस, नेटवर्क वा इन्टरनेट आदिको गलत प्रयोग गरेर गरिने गैरकानूनी गतिविधि वा आपराधिक कार्यलाई जनाउँछ ।
नेपालमा यसखाले अपराधको रोकथाम र नियन्त्रण गर्न विद्युतीय कारोबार (इलेक्ट्रोनिक) ऐन, २०६३ व्यवस्था गरिएको छ । त्यसैगरी, मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ को दफा २९८ मा पनि विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना अनधिकृतरुपमा प्राप्त गर्न त्यसको गलत प्रयोग तथा मानिसको गोपनीयताको अधिकार उल्लंघन गर्न वा अनधिकृत रुपमा कसैलाई हस्तान्तरण वा साझा गर्न वा गराउन नहुने कुरा उल्लेख गरिएको छ । यस्तो गरेमा सो व्यक्ति तथा समुहलाई दुई वर्षसम्म कैद वा २० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । यसबाहेक, अब बन्ने वा बनिरहेका नियम कानूनहरुले विद्युतीय माध्यम मार्फत गरिने अपराधहरुलाई रोकथाम र नियन्त्रण गर्न विभिन्न प्रावधानहरुको बन्दोबस्त गर्न थालेका छन् ।
सामाजिक संचार र सञ्जालको विषय वस्तुको बारे समाजमा विभिन्न विचार र प्रभाव परेको देखिन्छ । जे भए तापनि, मानिसले यसको सहि उपयोग गरेमा उनीहरुले यसबाट ज्ञान, सीप तथा सूचना प्राप्त गर्न सक्दछ । उनीहरुले समाज विकास र सशक्तिकरणमा पनि योगदान दिन सक्दछ । अन्यथा यसको गलत प्रयोग भएमा समाजमा यसले अनेकन नकारात्मक प्रभाव पार्न सक्दछ । तसर्थ, सामाजिक सञ्जालहरुको हरेक व्यक्ति, समूह र संस्थाहरुले सहि र प्रभावकारी उपयोग गर्नु सबैको जिम्मेवारी र कर्तव्य हुनु पर्दछ ।
भाद्र १४, २०८२