काठमाडौं । नेपालमा करिब तीन लाख हेक्टर क्षेत्रफलमा व्यवसायीक तरकारी खेती हुँदा करिब ४१ लाख मेट्रिक टन ताजा तरकारी उत्पादन हुने गर्छ । तर, सो तरकारी उत्पादन गर्न अत्यधिक विशादी प्रयोग हुने गरेको छ । बारीमादेखि भान्सामा पुग्दासम्म तरकारीमा अत्यधिक विशादी हुँदा जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ । नेपालमा बार्षिक ३४ लाख केजी बढी विषादी नेपालमै सविन्यास र आयात हुने गरेको सरकारी तथ्याङक नै छ । देशमा खपत हुने विषादीको झन्डै ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । यस्तो अबस्थामा हाम्रो भान्सामा तरकारीको नाममा विशादी भित्रिरहेको छ । सरकारले १० वटा फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा तोकेर मापदण्ड बनाएको छ । तर, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा तरकारीको गुणस्तरको रिर्पाेट आउनुभन्दा अघिनै तरकारी उपभोक्तासम्म तरकारी पुगेका कयौं घटनाहरु छन् । जसले, उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर लाप्रवाही भइरहेको भन्दै सम्बन्धीत पक्षको आलोचना भइरहेको छ ।
माघ महिनाको अन्तिमसाता सर्लाहीबाट भित्रिएका दुई गोलभेँडाको नमुना परीक्षणको रिपोर्टमा खान नहुने विषादी भेटियो । परीक्षणको रिपोर्टमा अर्गानो फन्टफेट नामक विषादीको अवशेष ८३ दशमलव ६५९ र ७२.७५३ प्रतिशत थियो । प्रयोगशालाले सर्लाहीका दुई किसानले ल्याएको गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति समक्ष बिहान ६ बजे रिपोर्ट बुझायो । समितिका सुरक्षागार्डसहित तरकारी स्टलमा ८ बजे पुग्दा घातक विषादी भेटिएको गोलभेँडा सबै बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसकेको थियो । थोरै बाँकी रहेको गोलभेँडा समितिको नेतृत्वमा नष्ट गर्यो । त्यस्तै माघको पहिलो साता काठमाडौं उपत्यकामा वितरण गरिएको अधिकांश तरकारीमा विषादी पाइयो । १० वटा तरकारीको नमुना संकलन गरिएकोमा ५ वटा तरकारीको नमुनामा विषादी पाइएको हो । परिक्षणमा ढिलाई हो वा संयन्त्रको लाप्रवाहिका कारण उपभोक्तको भान्सामा जान अन्जानमा तरकारीको रुपमा विशादी पुगिरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले परिक्षण प्रभावकारी नभएको बताए ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत कालीमाटी बाहेक बिर्तामोड, बुटवल, पोखरा, सर्लाही, नेपालगन्ज, अत्तरियासहितका १२ स्थानमा प्रयोगशाला सञ्चालनमा छन् । तत्कालीन मुख्य सचिव लीलामणि पौडेलको पहलमा २०७१ सालको असार अन्तिम साता कालीमाटी तरकारी बजारमा द्रुत विषादी परीक्षण प्रयोगशाला स्थापना गरिएको थियो । तर, कालीमाटी तरकारी बजारमा रहेको परिक्षण केन्द्रले प्रभावकारी काम गर्न सकेको छैन् । बजारमा सामान्यतया तरकारी मध्यरात १२ देखि बिहान ३ बजेभित्र आइसक्छ । त्यसपछि प्रयोगशालाले नमुना संकलनगरि आधा घण्टामा रिर्पाेट तयार गर्नुपर्नेमा जनशक्ति र सुरक्षाको कारण देखाउँदै रिर्पाेट ढिला बुझाउदा थोक विक्रेताले बेचिसकेको तत्थ्यहरु सार्वजनिक हुँने गरेको छ । उसो त, तरकारी भान्सामा पु¥याइसकेपछि विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन । केन्द्रीय कृषि प्रयोगशालाका सूचना अधिकारी मञ्जुश्री अर्यालले जनशक्ती र स्रोधसाधनको कमीका कारण समस्या हुने गरेको बताउछीन् ।
सरकारले १० वटा फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा तोकेर मापदण्ड बनाएको छ । केरा, स्याउ, भिण्डी, काउलीलगायत तरकारी तथा फलफूलको परीक्षण गर्न मापदण्ड तयार गरिएको हो । भारतबाट आयातित तरकारीको विषादी परीक्षण गर्नुपर्ने आवाज उठ्दै आएको छ । नेपालीले उपभोग गर्ने तरकारीमा प्रयोग हुने विषादीमध्ये ८० प्रतिशतको परीक्षण नै हुने गरेको छैन । प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार बजारमा बिक्री हुने तरकारीमा नमूनाको रुपमा इन्सेक्टिसाइड अन्तर्गतका अर्गानो फस्फेट र कार्बामेटको मात्र परीक्षण हुन्छ । नेपालमा अन्य ८० प्रतिशत विषादीको परीक्षण गर्ने प्रविधि र संयन्त्र नै छैन ।
नेपालमा प्रयोग हुने विषादीमा अर्गानोफस्फेट १७ दशमलव ५७ प्रतिशत र कार्बामेट २ दशमलव २९ प्रतिशत छ । यता संयन्त्र नबन्नु उता उपभोक्ताको भान्सा दिनप्रतिदिन विग्रदै जानुले उपभोक्ता हितको संरक्षण हुन नसकेको भन्छन्, उपभोक्ता हित संरक्षण मञ्चका सचिव जयप्रशाद अधिकारी । नेपालमा प्रत्येक वर्ष भित्रिने विषादीमध्ये ८५ प्रतिशत तरकारी बालीमा प्रयोग हुन्छ । विश्वमा करिब दुई करोड ६० लाख मानिसमा बर्सेनि विषादीको असर परेको देखिन्छ भने करिब २२ लाख मानिसको मृत्यु यसको प्रयोगबाट हुने गरेको अध्ययनले देखाएका छन् । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।
यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ । दिनहुँ विशादीले भरिएका तरकारी खादा विभिन्न रोगहरुको जोखिम बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले तरकारीमा बढ्दो विशादीको प्रयोगले ठुला रोगहरुको जोखिम बढेकाले यसमा सबै भन्दा पहिला किसान सजक हुनुपर्ने बताउछन् ।
रासायनिक विषादीका विकल्पबारे नेपालमा पर्याप्त अनुसन्धान हुन सकेको छैन । खास गरी वानस्पतिक विषादीको अवशेष धेरै कम रहने भएकाले पनि यस्ता विषादीको अनुसन्धान र प्रवर्धन जरुरी रहेको सरोकारवाला बताउदै आइरहेका छन् ।
बोझो, सयपत्री, सिस्नु, खिर्रो, असुरो, बकाइनो, निम, लसुन जस्ता तिता, पिरा खालका वनस्पतिहरूको प्रयोगबाट विशादी बनाउन सकिन्छ । तर, यसको स्थानीय स्तरका प्रवर्धन गर्न सकिएको छैन् । निम जस्ता वनस्पतिबाट तयार गरिएका विषादी पनि बजारमा उपलब्ध छन्, तर तिनीहरूको उपलब्धता र प्रयोग प्रशस्त नहुँदा हानिकारक विषादीको प्रयोग बढ्दो छ । संविधानको धारा ४४ ले सुरक्षित र गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । यस्तो अबस्थामा राज्यले गम्भीरता देखाए तरकारीका नाममा उपभोक्ताको भान्सामा जाने विस कम गर्न सकिन्थ्यो कि ? क्यापिटल समाचार