काठमाडौँ । नेपाल एयरलाइन्ससँग आकाशमा नै ठोकिनबाट बचेको एयर इण्डियाको बदमासीमाथि छानबिन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त घटनामा संलग्न एयरलाइन्समाथि छानबिन गर्ने भएको छ ।
गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन विमानस्थल आउँदै थियो । ठिक त्यति नै बेला दिल्लीबाट काठमाडौँका लागि उडेको एयर इण्डियाको जहाज १९ हजारको फिटको उचाइबाट उडिरहेको थियो । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना नै एयर इण्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सले उडान केही फिट डाउन गरेर दुर्घटनाबाट बचेको थियो । यो घटनाप्रति नागरिक उड्डयन प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ
हवाई सुरक्षा जस्तो अति संवेदनशील विषयमा एयर इण्डियाको चरम लापरबाही देखाएको भन्दै अर्थात् छानबिन गर्न दुई सदस्यीय छानबिन समिति गठन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
‘हवाई सुरक्षा जस्तो अति संवेदनशीलतामा गल्ती गर्नेमाथि कारबाही हुन्छ । घटनामा के भएको थियो, अहिले हामी अध्ययनकै क्रममा छौँ । सत्य, तथ्य जानकारी भएपछि सार्वजनिक गर्ने निरौलाले बताए।
तर, प्राधिकरणले आन्तरिक रूपमा छानबिन समिति गठन गरेको भएपनि सदस्यहरूको सूचना भने गोप्य राखेको छ। जतिसक्दो छिटो अध्ययन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन गरिएको निरौलाको भनाइ छ ।
उसो त यस्तो घटना पहिलो भने होइन । यसअघि गत फागुन १५ गते पनि यस्तै घटना नेपाली आकाशमा घटेको थियो । २७ फेब्रुअरी, २०२३ का दिन कतारको दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एयरवेज र मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सकै जहाज यसैगरी आकाशमै ठोक्किनबाट बचेका थिए । उक्त घटनाबाट डोमोस्टिक एयरलाइन्स ‘बुद्धएयर’ समेत बालतल बचेको थियो ।