काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले नेतृत्वको सहयात्रा छोड्नुपर्ने कारण के हो भनेर प्रश्न गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै नेता पौडेलले ‘यदि तपाईँलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते तपाई त्यस प्रकारको सहमतिमा किन पुग्नुभयो ? , पौडेलले प्रश्न गर्दै भने, ‘आज तपाईँले जवाफ दिनुस् नदिनुस्, आज तपाई जवाफ नदिन सक्नुहुन्छ । तर तपाईँलाई निरन्तर प्रश्न सोधिरहनेछ ।’ उनले एउटा विन्दुमा गएर प्रचण्डले यसको जवाफ दिनै पर्ने बताए ।
‘प्रचण्डको नेतृत्वमा सरकार बन्दा कुन पृष्ठभूमिबाट अघि बढेका थियौँ त्यो पृष्ठभूमिलाई हेक्का राख्न जरुरी छ । निर्वाचनमा एकातिर गठबन्धन र अर्कोतिर एमाले भएर निर्वाचन भयो । निर्वाचनमा एमाले मतका हिसाबले पहिलो भए पनि सिटका आधारमा दोस्रो पार्टी बन्यो’, पौडेलले भने, ‘त्यसैले प्रतिपक्षमा बस्छौ भनेर भनेका थियौ ।
जब गठबन्धनले सरकार दिन सकेन, राष्ट्रपतिले दिएको समयभित्र पनि सरकार गठनमा गठबन्धनले सरकार दिन सकेन, त्यस परिस्थितिमा माओवादी केन्द्रका अध्यक्षले समर्थन मागेकाले सशर्त समर्थन गरेका थियौ’, पौडेलले भने, ‘राष्ट्र राष्ट्रियता र संविधानको पक्षमा उभिनुपर्छ, आर्थिक समस्या समाधान गर्नुपर्छ भन्ने सर्तमा समर्थन गर्ने प्रतिबद्धता जनाएका थियो ।’