पोखरा । बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पल शाह (पूर्णविक्रम) लाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन भएको छ ।
न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै एक समूहले शुक्रबार उच्च अदालत पोखरामा १ घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।
उच्च अदालतले यौन दुर्व्यवहारलाई सामन्यिकरण गरेको भन्दै उच्च अदालत पोखराको प्रवेशद्धारमा केही युवायुववती भेला भएर प्रदर्शन गरे ।
विरोध प्रदर्शनमा सहभागीले ‘न्यायालयले गल्ती गर्ने अधिकार छैन’, ‘पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार’, ‘न्यायालयले नै अन्याय गर्दा न्यायको अपील कहाँ गर्ने ?’ ‘पोलेर बोलेको’, ‘बलत्कारलाई प्रवद्र्धन गर्ने संस्कार बन्द गरौं’, लगायतको पम्पलेट बोकेका थिए ।
न्यायालयबाटै पीडितलाई थप पीडा हुने निर्णय भएकाले आफूहरुले राज्यको खबरदारी गर्न शान्तिपूर्ण प्रदर्शन गरेको अभियान्ता सलिजा श्रेष्ठले बताइन् । ‘नवलपूर जिल्ला अदालतले बाल यौन दुराचारको अभियोगमा साढे २ वर्षको सजायको फैसला सुनाएको थियो । तर, यहाँबाट त्यो फैसलालाई बदर गरियो,’ उनले भनिन्, ‘यदि उहाँ गलत हुनुहुन्थेन भने बालयौन दुराचार अभियोग पनि लाउने थिएन नि, हामी जवाफ चाहन्छौं ।’
अर्की अभियान्ता रिसु थापामगरले न्यायालयबाटै गलत नजीर प्रतिपादन हुने डर भएको बताइन् । ‘यो एउटामात्रै केस होइन । अब यसरी आफूविरुद्धको हिंसाबारे खुलाउन पनि डर लाग्ने स्थिति भइसक्यो,’ उनले भनिन्, ‘गलत नजीर नबसोस् भन्नका लागि पनि प्रदर्शन गरेका हौं ।’
उच्च अदालतबाट आइतबार बाल यौन दुरुपयोग अभियोगमा सफाइ पाएपछि तनहुँ कारागारमा रहेका शाह सोमबार रिहाइ भइसकेका छन् । नाबालिग बलात्कार अभियोग लागेका शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोगमा दोषी ठहर गरेको थियो ।