काठमाडौँ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमवार आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । साथै एमालेले सरकारबाट पनि फिर्ता हुने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० गते भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नगएको र प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताए । उनले प्रधानमन्त्रीले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा विनाविभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको आरोप लगाए ।
उनले प्रधानमन्त्री प्रचण्डले जेनेभा भ्रमणमा जान लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको आरोप लगाउए । उनले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्नुले राष्ट्रको इज्जतमाथि नै प्रतिकूल असर परेको दाबी गरे ।
उनले भने, ‘आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ । राष्ट्रपतिमा भएको सहमति कार्यान्यन गर्नुभएन र अरु दलको समर्थनमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गरे। तर, पनि हामीले देशको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभए पनि देशको परिस्थिति हेरेर अघि बढिरहेका थियौँ । तर, प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि गर्नुभएको व्यवहारबाट हामी सरकारमा बस्न सकेनौँ ।’
उनले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको आरोप लगाए । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिइसकेको छ ।
गएको पुस १० गते एमालेसहित सात दलका सांसदले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर बहुमत जुटाएका थिए । त्यस बेला एमालेले माओवादीलाई सघाएबापत राष्ट्रपति एमालेले पाउने मौखिम सहमति भएको थियो । तर त्यो सहमति विपरीत प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहितको आठ दलीय मोर्चा बनाउँदै राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गर्नुभएपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।