काठमाडौं । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६० औं स्थापना दिवस मनाउँदैछ । सेना दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन् ।
राष्ट्रपति भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले कार्यसम्पादन गर्दै आएको बताए ।
सेना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको बताएका छन् ।
राष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन्, ‘संवैधानिक जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आएको सेनाले लामो समयदेखि राष्ट्रको प्रतिरक्षा, आन्तरिक सुरक्षालगायत संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको रूपमा विश्व शान्ति स्थापना कार्यमा पुर्याउँदै आएको योगदानको उच्च कदर गर्न चाहन्छु ।’
देश र जनताको सुरक्षालगायत विकास निर्माण र प्रकृति संरक्षणमा सेनाले अहं भूमिका खेल्दै आएको भन्दै भण्डारीले यो वर्ष सम्पन्न तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सेनाले खेलेको भूमिकाको प्रशंसा गरे ।
सोही उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन गरे ।
प्रधानमन्त्री दाहालले भनेका छन्, ‘ऐतिहासिक परिवेश र परिदृश्यको सूक्ष्म निगरानी तथा विश्लेषण गर्दै देशको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको रक्षाका लागि नेपाल र नेपालीपनको पहरेदारको रूपमा स्थापित भएको यस सङ्गठनले देशको एकीकरणदेखि हालसम्म खेलेको भूमिका तथा योगदान सराहनीय छ ।’
प्रचण्डले विकास निर्माण, अन्तर्राष्ट्रिय शान्ति, पर्यावरण संरक्षण, विपद् व्यवस्थापन, निर्वाचन सुरक्षा, खेलकुदमा आर्जन गरेको ख्याति, प्रदर्शन गरेको वीरता र अपनाएको व्यावसायिकताको प्रशंसा गरे ।
यसैगरी, रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सेना दिवसका अवसरमा सेनाका सकलदर्जालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।