सुदूरपश्चिमले आजबाट विकासको नयाँ फड्को सुरू गर्नेस् प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बबताएका छन् ।
सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यक्तालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताए ।
उनले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताउँदै असफल हुने छुट नरहेको उल्लेख गरे । उनले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताए । प्रधानमन्त्री दाहालले केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौं कोणबाट प्रश्न उठाउने कोशिषहरु भइरहेको उल्लेख गर्दै जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य भएको बताए ।
उनले फेरी एक पटक नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउँदै सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकतावद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपील गरेका छन् । प्रधानमन्त्री दाहालले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भइसकेको उल्लेख गर्दै छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि बढ्ने बताए ।
प्रधानमन्त्री दाहालले सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट सुरु गर्ने बताए। नेपालमा पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिममा स्थापना गर्ने उनले बताए । प्रधानमन्त्री दाहालले जनयुद्ध दिवसका दिन नै विकासमा फड्को मार्दै गर्दा आफ्नो इच्छा, आकंक्षा र देश विकास र सुशासनमा लाग्न प्रेरित गरेको उनको भनाइ छ् ।