काठमाडौं । सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगुका २७ वर्षीय विक्रम कार्की र सोही ठाउँका २० वर्षीय सुमन कार्कीलाई पक्राउ गरेको हो। उनीहरुलाई आज (बिहीबार) तीनकुने र चुच्चेपाटीबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले बताए ।
उनीहरुले दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगुस्थित हिमचुली बहुउदेश्यीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या गरी लुटपाट गरेको प्रहरीले जनाएको छ । सुरक्षागार्ड खड्कालाई कात्तिक १० गते अज्ञात समूहले हत्या गरी सहकारीबाट एक लाख ८५ हजार ७८० रुपैयाँ लुटपाट गरी फरार भएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा उनको हत्या र लुटपाटमा कार्कीद्वयको संलग्नता रहेको खुलेपछि पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । हत्या गरी लुटपाट गरेको अवस्थामा खड्काको शव कात्तिक १२ गते जुगुस्थित जंगलमा डोरीले हातखुट्टा बाँधेर फालेको अवस्थामा भेटिएको थियो ।
पछाडि हात लगेर बाँधेको तथा खादाले मुखसमेत थुनेको र निधारमा चोट लागेको अवस्थामा खड्काको शव भेटिएको थियो । हत्या आरोपमा पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको सीआईबीले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट मृतकको मोबाइल एक थान, लुटिएकोमध्ये एक लाख ३८ हजार २३५ रुपैयाँ नगद बरामद गरेको छ ।