काठमाडौं। सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको छैटौं देखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार छैटौंदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।
छैटौं चरणका खेलहरु चैत २० गतेबाट सुरु हुनेछ। छैटौं चरणको पहिलो खेलमा संकटा क्लब र एफसी खुमलटार भिड्ने छन्। त्यहि दिन एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच समेत प्रतिस्पर्धा हुनेछ।
पाँचौं चरणसम्मको खेल सकिदा लिगका ३५ खेलहरु सकिएको छ। पाँचौं चरणसम्म रोयल ब्लु सातदोबाटो युथ क्लबले शीर्ष स्थानमा रहेको छ। सातदोबाटोले ५ खेलमा १२ अंक जोडेको छ।
दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले ११ अंक जोडेको छ। नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। १० अंक जोडेको जावलाखेल युथ क्लब चौंथो र ८ अंक जोडेको त्रिभुवन आर्मी क्लब पाँचौं स्थानमा रहेको छ।
पाँचौं चरणको खेल सकिदासम्म मनाङ र चर्च ब्वाइज अपराजित रहेको छ। पाँचौं चरणमा आएर नेपाल पुलिस क्लबले पहिलो एक अंक जोडेको छ। पुलिस अंक तालिकाको पुछारमा रहेको छ।