काठमाडौं। साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौंथो तथा आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले आयोजक टोलीको सामना गर्नेछ।
नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। नेपाल आज बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ। नेपालले अघिल्ला तीन खेलमा दुई हार र एक जित निकालेको छ।
नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रसियासँग पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो । नेपाल ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ। बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
रसिया ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। प्रतियोगिताको अन्तिम खेलमा मंगलबार नै रसिया र भारतबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ।