काठमाडौं । अमेरिकाको मिसिसिपी राज्यमा आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ। चार जना आँधीमा बेपत्ता भएका छन् भने थुप्रै मानिस घाइते भएका बीबीसीले जनाएको छ।
करिब १६० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीबाट अमेरिकाको शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टी दुई जना, हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक जनाको ज्यान गएको छ।
बेपत्ता भएकाहरुको खोजी भइरहेको र मृतकको सङ्ख्या बढ्न सक्ने खोजी तथा उद्धार कार्यमा खटिएकाहरुले जनाएका बीबीसीमा उल्लेख छ।
मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए) का अनुसार अमेरिकाको ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य भइरहेको छ।