काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज पनि वर्षा र हिमपात भइरहेको छ। पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण सोमबार रातिदेखि यी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको हो।
यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आज गण्डकी प्रदेशमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। वर्षा भइरहेका ठाउँमध्ये बाजुरामा सबैभन्दा धेरै पानी परेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा १६ मिलिमिटर वर्षा भएको मापन गरिएको छ।
मौसमविद् श्रेष्ठका अनुसार अन्य प्रदेशमा भने पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छैन। यो प्रणाली आज बेलुकादेखि नै कमजोर बन्ने सम्भावना छ। यसले गर्दा पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भए पनि बाग्मती, मधेस प्रदेश र प्रदेश १ मा वर्षाको सम्भावना तत्काललाई छैन।
शुक्रबार बेलुकादेखि फेरि अर्को निम्न चापीय प्रणाली भित्रने सम्भावना रहेको र यो पनि पश्चिमी क्षेत्रमा नै बढी सक्रिय हुने देखिएको मौसमविद् समिर श्रेष्ठले बताए । काठमाडौंसहित बाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश १ मा शुक्रबारसम्म वर्षाको कुनै सम्भावना छैन।