एजेन्सी । बलिउड अभिनेता शाहरुख खानलाई भन्सारले ७ लाख जरिवाना गरेको छ । विमानस्थलमा तैनाथ एयर इन्टेलिजेन्स युनिटको स्रोतलाई उदृत गर्दै भारतीय मिडियाले खबर लेखेका छन् ।
शाहरुख खान शुक्रवार राति शारजाहबाट फर्किंदै गर्दा मुम्बई एयरपोर्टमा करिब एक घण्टाको लागि भन्सारले रोकेको बताइएको छ ।
चेकजाँचका क्रममा शाहरुखसँग महँगो घडीहरूको कभर भेटिएको बताइएको छ । यी कभरहरूको लागत लगभग १८ लाख भारतीय रुपैयाँ थियो । तर यसको भन्सार तिरिएको थिएन । सोही कारण साहरुखलाई करिब ६ लाख ८३ हजार भारतीय रुपैयाँ भन्सार तिर्न भनिएको थियो ।
रिपोर्टहरूमा यो पनि भनिएको छ कि शाहरुख र उनको सम्पूर्ण टोलीलाई नियम उल्लङ्घनको आरोपमा मुम्बई एयरपोर्टमा भन्सार विभागका अधिकारीहरूले सोधपुछ गरेका थिए । करिब एक घण्टापछि शाहरुख र उनको म्यानेजर पूजा ददलानी एयरपोर्टबाट बाहिर निस्किएका थिए ।