काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बङ्लादेशलाई ४ अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ। ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यसँग जुध्न यो सहायता प्याकेज उपलब्ध गराउने प्रारम्भिक सम्झौता भएको आईएमएफले जनाएको छ।
रूसले युक्रेनमा आक्रमण थालेपछि मूल्यमा भएको तीव्र वृद्धिका कारण अरु एसियाली अर्थतन्त्रसँग मिल्दोजुल्दो बङ्लादेश पनि प्रभावित भएको छ। झण्डै १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली देश बङ्लादेशले यस वर्षको सुरुमा आईएमएफसँग सहयोग अनुरोध गरेको थियो ।
पछिल्लो समय बङ्लादेशी मुद्रा (टाका) को मूल्य २५ प्रतिशतले घटेको छ। युक्रेनमा रूसको आक्रमणका कारण बङ्लादेशको आर्थिक पुनरूत्थानमा अवरोध पुगेको आईएमएफका टोली प्रमुख राहुल आनन्दले बताए।
बङ्लादेशले चालु खाता घाटा, विदेशी मुद्रा सञ्चितिमा गिरावट, बढ्दो मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिसँगै जलवायु परिवर्तनको समस्या पनि भोग्दै आएको छ।