काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको विज्ञले चेतावनी दिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत देखिएको बताएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये झन्डै १० प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । एक महिनामा सक्रिय सङ्क्रमित १ हजार ७ सय ७६ पुगेको छ, यसमध्ये काठमाडौं उपत्यकामा सबैभन्दा धेरै १ हजार १ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । धेरैजसोमा अहिले ओमिक्रोनको उपप्रजाति बीए टू र अन्यमा बीए वान र बीए फाइभ पुष्टि भएको छ ।
यस्तै, पछिल्लो साढे दुई महिनामा कोरोना सङ्क्रमणका कारण पहिलो पटक आइतवार एक जनाको ज्यान गएको थियो भने हिजो पनि अर्का एक जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाएका दुवै जनाले कोरोना विरुद्धको खोप लगाएका थिएनन् ।
कोरोना भाइरसको सङ्क्रमण कम भएसँगै पछिल्लो समय लापरबाही र हेलचेक्र्याइँ बढ्दै गएको छ । विज्ञले जनस्वास्थ्यका मापदण्ड पालनामा गम्भीर हुन र कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेका छन् । सकेसम्म भिडभाडमा नजान, मास्कको प्रयोग गर्न र खोप लगाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।