काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन दिएका मध्ये १० जना आवेदकको नाम सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार बोर्डको अध्यक्षका लागि दाबी गर्ने १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सूचीमा भुवन केसीदेखि सुष्मा कार्कीसम्म अटाएका छन् । कांग्रेस प्रवेश गरेका केसीलाई प्रधानमन्त्री देउवाले बोर्डको अध्यक्ष बनाउने आश्वासन दिएको चर्चा चलिरहेको छ । त्यहीबीचमा केसीको नाम पनि सार्वजनिक भएपछि चर्चा थप बढेको छ ।
उमेर र योग्यताका कारण भुवनको आवेदन अस्वीकृत हुने चर्चा पनि मन्त्रालयमा चल्ने गरेको थियो । उम्मेदवारको दरखास्त स्वीकृत भएको जानकारी दिँदै मन्त्रालयले छानिएका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्ने जानकारी पनि सूचनामा उल्लेख छ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, दीपक श्रेष्ठ, भुवन केसी, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, निर्मलराज ढकाल, मनिष पण्डित, अरुणकुमार प्रधान, नरेशकुमार पौडेल र सम्झना उप्रेती रौनियार छन् ।