काठमाडौ । प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम कहिलेसम्म सम्पन्न हुन्छ भनी प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद ढकालले बर्षौ देखि न्यायको लागि भनेर शान्तिपूर्ण अनसन बसेकी गंगामाया अधिकारीलाइ भेट्नु प्रधानमन्त्री ज्यूको कर्तब्य हो कि होइन ? कहिले उहाँलाई भेट गर्न जानु हुन्छ ? भनी प्रश्न गरे । उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ‘सम्माननीय प्रधानमन्त्रिज्यूलाइ मेरो प्रश्न यो छ कि, मृतक नन्दप्रसादकी धर्मपत्नी गगांमाया अधिकारीको मागको सम्बोधन कहिले र कसरी गर्नु हुन्छ ?’
छोराका हत्यारालाई कारवाहीको माग गर्दै ३३० दिन आमरण अनशनमा बसेका गोरखाका नन्दप्रसाद अधिकारीको अनशनमै २०७१ असोज ६ गते निधन भएको बताउँदै सांसद ढकालले भने, ‘न्यायका लागि जीवन आहुति दिने अधिकारीलाई शहिद घोषणा गर्नु पर्नेमा बिगत ९ बर्षदेखी उनको पार्थिब शरीर अस्पतालमै सडेको छ। मृतक नन्दप्रसादकी धर्मपत्नी गगांमाया अधिकारी अहिले सम्म पनि बेहाल अबस्थामा सत्य र न्यायको प्रतिक्षामा छिन् ।’
सांसद सरकारको नीति तथा कार्यक्रमको १७६ बुँदामा शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम २ बर्षमा सम्पन्न गरिने उल्लेख भएतापनि त्यसको कार्यान्वयन हुन नसकेको बताए ।
सांसद ढकालको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताए । प्रधानमन्त्री प्रचण्डले सरकार विधिको शासनमा प्रतिबद्ध रहेको र अदालतको निर्णयको सम्मान गर्दै कार्यान्वय गर्दै आएको बताए ।
संक्रमणकालीन न्यायसम्पादन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले संसदमा दर्ता भएको विधेयक पारित भएसँगै संक्रमणकालीन न्यायका मुद्दा सम्बोधन हुने विश्वास व्यक्त गरे ।