काठमाडौ । वर्तमान गठबन्धन संसदीय व्यवस्था अन्तर्गत जनताले दिएको अभिमतको विरुद्धमा भएको विश्लेषक एवं प्राध्यापक डा. ज्ञान बस्नेतले बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै बस्नेतले निर्वाचनमा तेश्रो हैसियत प्राप्त गरेको दलले सरकारको नेतृत्व गर्नु बिडम्बना भएको बताए । उनले नेपालको राजनीति सैद्धान्तिक रुपमा अगाडि नबढेका कारण नै यस्तो विकृति सिर्जना भएको बताए ।
विगतमा सभामुखले संविधानले दिएको भूमिका निर्वाह नगरेका कारण नेकपा एकिकृत समाजवादी पार्टी बनेको बताउँदै बस्नेतले संवैधानिक अंगका पदाधिकारीहरुले समेत आफ्नो भूमिका बिर्सेको बताए । उनले संसदीय मूल्य र मान्यताको राजनीतिमा कुनैपनि दलले स्पष्ट भूमिका निर्वाह नगरेको बताए ।
मुलुकमा भ्रष्टाचार मौलाएको बताउँदै बस्नेतले जुनसुकै परिस्थितिमा पनि दलगत स्वार्थ प्रेरित राजनीति हाबी भएका कारण जनतामा समेत नैराश्यता पैदा हुनथालेको बताए ।