काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपर आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ।
उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको थियो । न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा सुनुवाइ गरेकाले मुद्दा हेर्न नमिल्ने भएपछि रिटमाथि सुनुवाइ नभएको हो ।
अधिवक्ता युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
लामछिानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानूनविपरीत रहेको भन्दै पौडेलले रिट दर्ता गराएका हुन् । रिटमा लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी प्राप्त गरी कसुर गरेको जिकिर गरिएको छ।