काठमाडौं । मन्त्रालय भागबन्डामा सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्तागठबन्धनमा रहेका ११ मध्ये तत्काल नौ दल सरकारमा सहभागी हुने गरी मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
गठबन्धनमा कसले कति मन्त्रालय पाउने टुङ्गो लागेको छ । तर, कुन दलले कुन–कुन मन्त्रालय पाउने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ । यस विषयमा आज छलफल गरी टुङ्गो लगाउने र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । कुन मन्त्रालय कसले पाउने भन्ने प्रस्ताव ल्याउन प्रधानमन्त्रीलाई नै जिम्मा दिइएको गठबन्धनका नेताहरुले बताएका छन् ।
हिजो बसेको गठबन्धनको बैठकमा कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई/दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भएको छ ।
जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सहभागी नभए पनि सत्तागठबन्धनले उसका लागि तीन मन्त्रालय सुरक्षित राखेको छ ।
त्यस्तै, आज मन्त्रिपरिषद् विस्तारसँगै सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजनिक गर्ने सत्ता गठबन्धनको तयारी छ ।