काठमाडौं । सत्तारुढ दलको बैठक आज बस्दै छ । आजको बैठकले मन्त्रिपरिषद् विस्तारका निर्णय गर्ने बताइएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न आज अपराह्न बजे गठबन्धनको बैठक बोलाउने शीर्षनेताहरु बीच सहमति भएको छ ।
हिजो प्रधानमन्त्रीसमेत रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा आज गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।
गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । दलहरुबीच मन्त्रालय भागबन्डाको कुरा नमिल्दा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न सक्नु भएको छैन् । कांग्रेसले अर्थसहित आठ मन्त्रालयमा दाबी गर्दै आएको छ, भने एकीकृत समाजवादीले कम्तिमा तीन मन्त्रालय पाउनु पर्ने अडान लिँदै आएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित साविकै मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने सर्त अगाडि सारेको छ । चैत ६ गते संसदबाट दोस्रोपटक विश्वासको मत लिनु भएका प्रधानमन्त्री प्रचण्डले एक साता बित्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।