काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति आफू सदैव सचेत रहेको बताएका छन् ।
राष्ट्रपति पौडेलले संघीय संसद र सातै प्रदेश सभा सदस्यको सम्मानमा शनिबार राष्ट्रपति भवनमा आयोजना गरिएको चियापान कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रहन कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने बताए ।
राष्ट्रपति पौडेलले निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म र भावनालाई अङ्गीकार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने कुरामा सबै सचेत रहनुपर्ने बताए ।
संक्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवम् जलवायु परिवर्तनले देखा पर्न थालेका असरहररुको न्यूनीकरण तथा राजनैतिक उपलब्धिहरूको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताए ।