काठमाडौं । संघीयताको मर्म विपरीत प्रदेशको अधिकारलाई अझैपनि संकुचित गरिएको बागमति प्रदेशका सदस्य किरण थापाले बताएका छन् । संघीयता कार्यान्वयन गर्ने क्रममा प्रदेशले पहिलो पाँच बर्षीय कार्यकाल पूरा गरिसक्दा पनि अझै संघले प्रदेशलाई हेर्ने दृष्टिकोण फराकिलो हुन नसकेको थापाले बताए ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै थापाले संविधानले व्यवस्था गरेको प्रावधान अनुसार पनि प्रदेशको अधिकारलाई संघले हस्तक्षेप गरिरहेको बताए । उनले जिल्ला स्तरीय योजनाहरुमा समेत संघीय सरकारले हस्तक्षेप गरेका कारण प्रदेशको औचित्य माथि नै प्रश्न उठ्ने गरेको बताए ।
बागमति प्रदेशमा विगतको सरकारले मनोमानी ढंगले बजेट विनियोजन गरेको बताउँदै प्रदेशभित्रका सबै जिल्लामा समानुपातिक रुपमा बजेट विनियोजन गर्नुपर्ने थापाले धारणा राखे । उनले प्रदेशभित्र पनि सबै जिल्ला र क्षेत्रमा समानुपातिक रुपमा विकास योजना तय हुन सकेन भने प्रदेशको संरचनामाथि विभिन्न प्रश्नहरु उठ्न सक्ने बताए ।
नेपालको संविधानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका निम्ति मुलुकको संघ,प्रदेश र स्थानीय तहको उत्तिकै भूमिका हुनुपर्ने बताए । उनले तीनवटै तहका सरकारको समन्वयमा मात्र संघीयता कार्यान्वयन हुन सक्ने बताए ।