काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने बताएका छन् ।
मङ्गलवार (आज)सिंहदरबारमा संसदीय दलको नेतामा देउवाको प्रस्तावकका रूपमा पुगेका नेता पौडेलले अहिलेको असहज परिस्थितीमा नेपाली कांग्रेसभित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले पार्टी सभापति देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेको बताए ।
उनले संसदीय दलको नेतामा सभापति देउवा निर्विरोध हुने दाबीसमेत गरे । उनले भने, ‘अहिलेको असहज परिस्थितीमा नेपाली कांग्रेसभित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले मैले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने भएको छु । पार्टी सभापतिलाई संसदीय दलको नेतामा सर्वसहमत चयन गर्न सबैलाई आग्रह गर्दछु ।’
यता संस्थापन इतर पक्षबाट पार्टी महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दै छन् । पार्टीका नेता डा. शेखर कोइरालाले युवा पुस्तान्तरणका लागि आफूले थापालाई समर्थन गरेको बताउँदै उहाँलाई संसदीय दलको नेतामा समर्थन गर्न पार्टीका सांसदलाई आग्रह गरेका छन् ।
संस्थापन पक्षबाट भने प्रधानमन्त्री एवम् पार्टी सभापति देउवा संसदीय दलको नेताका लागि उम्मेदवारी दिन सिंहदरबार पुगिसकेका छन् ।