काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको लागि तयार पारेको घोषणापत्र आज शनिबार सार्वजनिक गर्ने भएको छ ।
पार्टी कार्यालय सानेपामा बिहान १० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको हो । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।
‘निरन्तरतामा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषयलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार पारेको छ ।
घोषणापत्र मस्यौदा तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेका अनुसार पार्टी सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने छ ।
महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो । घोषणापत्र अर्थविद् डा. स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको हो ।
यसअघि यही कात्तिक ७ गते सार्वजनिक गर्ने भनिएको प्राविधिक कठिनाई भन्दै घोषणापत्र कार्यक्रम स्थगित गरिएको थियो ।