भक्तपुर । आगामी मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवारमा नेपाली कांग्रेसका रामगोपाल न्यौपाने पार्टी क्षेत्रीय समितिबाट केन्द्रीय समितिमा सिफारिस भएका छन् ।
पार्टीका विभिन्न समितिमा भूमिका निर्वाह गरिसकेका न्यौपाने भक्तपुर जिल्लाका पूराना कांग्रेस नेता मानिन्छन् ।
विक्रम सम्बत् २०२६ सालमा नेपाली कांग्रेस पार्टी साधारण सदस्यता लिएका न्यौपाने हाल नेपाल किसान संघ भक्तपुर जिल्ला सभापति रहेका छन् ।
बिक्रम सम्वत् २०३२ सालदेखि नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्य भएका न्यौपाने २०४२ सालको पञ्चायतविरुद्ध सत्याग्रह आन्दोलनमा सक्रिय रहँदा गिरफ्तार भइ पटक–पटक गरी १८ महिना राजनीतिक बन्दी जीवन बिताएका थिए ।
२०४६ सालको राजनीतिक आन्दोलनमा नेपाली कांग्रेसका तर्फबाट सक्रिय भूमिका निर्वाह गरेका न्यौपाने २०४८ सालको प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय चुनाव प्रचार संयोजकका रुपमा क्रियाशील भएका थिए ।
२०४९ सालको स्थानीय निकायको निर्वाचनमा साविक भक्तपुर दधिकोट गाउँ विकास समिति वडा नम्बर ५ को वडा अध्यक्ष निर्वाचित भइ कार्य गरेका न्यौपाने २०५४ सालमा पनि सोही वडामा वडा अध्यक्षका रुपमा लगातार निर्वाचित भएका थिए ।